'पडकास्टिङस् सङ्क्षिप्त परिचय' पुस्तक सार्वजनिक कार्यक्रममा तथ्यजाँचमा जोड

'पडकास्टिङस् सङ्क्षिप्त परिचय' पुस्तक सार्वजनिक कार्यक्रममा तथ्यजाँचमा जोड

काठमाडौँ : सिएमआर नेपाल जर्नलिजम एकेडेमीले शुक्रवार जर्मन लेखिका ब्रीगीट हेगडर्नले लेखेको पडकास्टिङ विषयको पुस्तक सार्वजनिक गर्यो।

एकेडेमीमा आयोजित कार्यक्रममा जर्मन दूतावासका नियोग उपप्रमुख तथा विकास सहयोग प्रमुख बेन्जामिन साइडेल र लेखिका हेगडर्नले पुस्तक सार्वजनिक गरेका थिए।

पुस्तक जर्मनीस्थित इन्टरलिंक एकेडेमीको सहकार्यमा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेको हो। एकेडेमीबाट प्रकाशित पडकास्टिङ पुस्तकको नेपाली अनुवाद एकेडेमीका पडकास्टिङ प्रशिक्षक श्रीराम पौडेल र रबिराज बरालले गरेका हुन् भने सम्पादन आचार्यले गरेका हुन्।

कार्यक्रममा नियोग उपप्रमुख साइडेलले लोकतन्त्रको विकासका लागि पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको र त्यसका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि जरुरी रहेको बताए। उनले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि जर्नलिजम एकेडेमीले खेलेको भूमिकाको सराहना गरे।

साइडेलले अहिले मिथ्या सूचना फैलिरहेको अवस्थामा पत्रकारिता र पत्रकारको महत्त्व झनै बढेको उल्लेख गर्दै प्रविधिले ल्याएको चुनौतीको सामना गर्न पत्रकारितासम्बन्धी तालिमहरू महत्त्वपूर्ण हुनेमा जोड दिए।
लेखिका हेगडर्नले पकडकास्टिङको महत्वको विषयमा प्रकाश पारेकी थिइन्।पडकास्टिङ उत्पादनका लागि के कस्ता प्रविधिको प्रयोग गर्ने र त्यसलाई विश्वसनीय एवं सहानुभूतियुक्त बनाउन के गर्ने र यसको बजारीकरणका लागि के कस्तो उपाय अपनाउन सकिन्छ भन्ने विषयमा उनले जोड दिएकी थिइन्।

साथै, पडकास्टिङबाट के कसरी आयआर्जन गर्न सकिन्छ भन्ने विषयमा पनि हेगडर्नले उल्लेख गरेकी थिइन्।

कार्यक्रममा सिएमआर नेपालका कार्यकारी निर्देशक तिलक पाठकले सिएमआर नेपालले मिडिया अनुसन्धान, मिडिया नीति समीक्षा एवं सरोकारवालाहरूसँग छलफल गर्दै आएकोमा पछिल्लो समय मिथ्या सूचनाविरुद्ध अभियान सञ्चालन र मूलधारको मिडिया र पत्रकारलाई सहयोग एवं क्षमता अभिबुद्धिको कार्यक्रमलाई जोड दिएको बताए।

नेपाल फ्याक्टचेक सुरु गरेर मिथ्या सूचनाको तथ्यजाँच गर्ने काम गरेको र एकेडेमीमार्फत पत्रकारहरूलाई डेटा ड्रिभन जर्नालिज्म, मोबाइल जर्नालिज्म, पडकास्टिङ, डिजिटल सुरक्षा, र तथ्याजाँचलगायतका तालिम दिने कार्य गरेको बताए।

एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा पत्रकारितासम्बन्धी उच्च गुणस्तरको तालिम दिइरहेको र एकेडेमीले अहिलेसम्म १४६ पत्रकारहरूलाई तालिम दिइसकेको उल्लेख गरे।

असोज १७, २०८१ शुक्रबार १९:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।