राहतका लागि एक अर्ब विनियोजन : पुननिर्माणमा २५ अर्ब लाग्ने, सबैभन्दा बढी खर्च बीपी राजमार्गमा

राहतका लागि एक अर्ब विनियोजन : पुननिर्माणमा २५ अर्ब लाग्ने, सबैभन्दा बढी खर्च बीपी राजमार्गमा

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पीडितहरूलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन्। 

शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि फन्डको आह्वान गरेको भन्दै नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूको १५ दिनको तलब दिने निर्णय गरेको पनि बताए। 

उनले भने, ‘राहतको लागि फन्डको आह्वान गरेका छौं। सरकारले त्यो फन्डमा एक अर्ब पैसा विनियोजित गरिसकेको छ। अरू दिएकाहरुबाट पनि आह्वान गरिएको छ। मन्त्रिपरिषद्को बैठकबाट मन्त्रीहरूको एक महिनाको तलब दिने भन्ने निर्णय गरेको छ।’ 

यस्तै, उनले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका कामहरू पनि सम्पन्न भएको बताए। 

उनले भने, ‘उद्धारको काम लगभग सकाएका छौं। तर, बीपी राजमार्गमा थुप्रै गाडी र मानिस फसेका छन्। ती गाडीहरूलाई उद्धार गर्ने पहिलो काम रहेको छ। यो काम सकेपछि उद्धारका काम सक्छौं। त्यसपछि मृतकहरूका परिवारलाई दिने क्षतिपूर्तिको कुरामा पनि सरकारले निर्णय गरिसकेको छ। अनि राहत र पुनःस्थापनाको कुरा छ।’

उनले अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा रहेको बताए। 

उनले भने, ‘करिब २० देखि २५ अर्ब पैसा पुननिर्माणमा लाग्छ र त्यसमध्ये सबैभन्दा धेरै पैसा बीपी राजमार्गमा लाग्छ। अहिले बाटो खोल्नको लागि मात्र काम गरिरहेका छौं। अहिलेलाई बीपी राजमार्ग बाहेक अन्य राजमार्ग सञ्चालनमा ल्याउने तयारीमा छौं।’ 

यातायातको विषयमा पनि चाडपर्व केन्द्रित बाटोलाई निर्माण गर्ने बाटोलाई सहज बनाउने भनेर निरन्तर प्रयासमा रहेको उनको भनाई छ।  

असोज १७, २०८१ शुक्रबार १९:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।