१८ दिनको विदेश भ्रमणपछि स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन् 'देश खत्तमै भयो भनिन्छ त्यस्तो चाहिँ होइन रहेछ'

१८ दिनको विदेश भ्रमणपछि स्वदेश फर्किएकी परराष्ट्रमन्त्रीले भनिन् 'देश खत्तमै भयो भनिन्छ त्यस्तो चाहिँ होइन रहेछ'

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किएकी छिन्। 

क्यानडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औँ महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागिता जनाएर देउवा शुक्रबार स्वदेश फर्किएकी हुन्।
 
आफ्नो विदेश भ्रमणबारे जानकारी गराउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले जलवायु परिवर्तनले गरेर देशमा हुने विनाशको बारे धेरै कुराहरू उठाएको जानकारी दिइन्। 

अन्तर्राष्ट्रिय जगतबाट हेर्दा नेपालको स्थिति खत्तमै भयो भन्ने भाष्य गलत प्रमाणित गरेको बताइन्। 

उनले भने, ‘जलवायु परिवर्तनले गरेर हाम्रो देशमा हुने विनाशको बारेमा धेरै कुराहरू उठायौं। अन्तर्राष्ट्रिय जगतबाट हेर्नुपर्दा नेपालको स्थिति केही पनि भएन, खत्तमै भयो देश भनिन्छ त्यस्तो चाहिँ होइन रहेछ।’

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी परराष्ट्रमन्त्री राणा विभिन्न कार्यक्रममा सहभागी भएर १८ दिनपछि स्वदेश फर्किएकी हुन्। 

सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरूको सहभागिता थियो।

सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यान्माका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन्।

असोज १७, २०८१ शुक्रबार १८:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।