आपत्तिजनक हेडलाइन र फोटो राखेर समाचार प्रकाशन गर्ने गणेश बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भयो, पक्राउ परेनन्

आपत्तिजनक हेडलाइन र फोटो राखेर समाचार प्रकाशन गर्ने गणेश बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भयो, पक्राउ परेनन्

काठमाडौं : एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रूक्मति जागरीले आफ्नो चरित्र हत्या गर्नेहरूमाथि राज्यले कारवाही गर्न तदारुकता नदेखाएको गुनासो गरेकी छिन्।

एकीकृत समाजवादीको गत असार १६ देखि सुरू भएर २१ मा सम्पन्न भएको महाधिवेशनमा आफू केन्द्रीय सदस्य बनेसँगै पार्टीकै केही नेताहरूले सुनियोजित रुपमा भ्रामक भिडियो बाहिर ल्याएर आफूलाई बदनाम गराएको उनको भनाई छ। 

त्यस्तै, दृष्टि, जनता टाइम्स, खप्तड टिभीलगायतमा मिडियाहरुले आफूविरूद्ध नियोजित रुपमा समाचार बनाएर चरित्र हत्या गरेको उनको आरोप छ।

आफ्नो चरित्र हत्यामा संलग्न रहेकाहरूविरूद्ध प्रेस काउन्सिल, महिला आयोग, मानव अधिकार आयोग, साइबर ब्यूरोलगायतका राज्यका निकायमा पुगेपनि न्याय नपाएको बताइन्। आफूविरूद्ध चरित्र हत्या हुनेगरी प्रकाशन/प्रशासन गरिएको उक्त समाचार अझै नहटाइएको उनको गुनासो छ।

आफूले गृहमन्त्री रमेश लेखकलाई भेटेर आफ्नो पिडा सुनाएपछि गणेश विक र गणेशवहादुर बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले सुनाइन्। 

गणेश बस्नेत एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारीका अध्यक्षसमेत हुन्। केही समयअघि उनले आफू प्रकाशक रहेको जनता टाइम्स अनलाइनमा आपत्तिजनक हेडलाइन र फोटो राखेर समाचार प्रकाशन गरेका थिए। 

केन्द्रीय सदस्य जागरीले पक्राउ पुर्जी जारी भएकाहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन्। 

उनले सरकारले त्यस्ता अराजक तत्वलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने आफूले कानुन हातमा लिन बाध्य हुने पनि उनले चेतावनी दिइन्।

‘पक्राउ पुर्जी जारी भएर जुन नौटंकी प्रस्तुत भइराखेको छ, यो गलत कुरा हो। मलाई कानुन हातमा लिन बाध्य नपारियोस्। किनभने यो देश कानुनी राज्य हो। म कानुन मान्ने मान्छे हुँ। मेरो पनि घर परिवार छन्, आफन्त छन्। म जोडदार ढंगले माग गर्न चाहन्छु। पत्रकार महासंघले नौटंकी गरिरहेको छ। महिलामाथि हिंसा गर्ने अपराधी पत्रकार र राजनीतिक दलका षड्यन्त्रकारीहरूलाई कठघरामा उभ्याउन सहयोग गर्नुहोस्,’ उनले भनिन्।

आफ्नो राजनीतिक जीवन समाप्त पार्नका लागि यस्ता प्रकारको षड्यन्त्र भइरहेको उनले बताइन्। उनीहरुलाई पक्राउ गरेर कानुनी कारवाही गरेपछि मात्रै आफूले न्याय पाएको महशुस गर्ने उनको भनाई छ।  

असोज १७, २०८१ शुक्रबार १८:०३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।