हवाई चाप बढेपछि यसलाई व्यवस्थित बनाउने मन्त्री पाण्डेको आश्वासन

हवाई चाप बढेपछि यसलाई व्यवस्थित बनाउने मन्त्री पाण्डेको आश्वासन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन्। 

शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधारण सभालाई सम्बोधनमा उनले यात्रुहरूको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए।

उनले भने, ‘विपद र महान चाडहरूसँगै आएका कारण हवाई चाप बढेको छ। यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं।’ 

उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरू बनाएर सुदृढीकरण गर्ने उद्घोष गरे। 

मन्त्री पाण्डेले ट्रेड युनियनलगायतका संघ, संस्थाहरूले सत्य, तथ्य कुरा मात्रै पस्कनुपर्ने भन्दै नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिनसमेत अनुरोध गरेका छन्। 

मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरूसँग छलफल गरेका छन्।  

असोज १७, २०८१ शुक्रबार १४:५३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।