छोरा समिरको ज्यान प्रभास र यशको भन्दा राम्रो भएको विराज भट्टको दाबी

छोरा समिरको ज्यान प्रभास र यशको भन्दा राम्रो भएको विराज भट्टको दाबी

काठमाडौं : रिलिजको संघारमा आइपुग्न लाग्दा समेत विराज भट्टको दोस्रो निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ खासै चर्चा सुनिँदैन। सामाजिक सञ्जालमा परिचालित समूहबाहेक फिल्मका कलाकार अन्तर्वार्ता र बाहिरी कार्यक्रममा देखिएका छैनन्।

फिल्म प्रदर्शनमा आउन एक साताअघि बिहीबार निर्माण टिमले हात्तिसारमा पत्रकार सम्मेलन गर्यो। निर्देशक भट्टले छोरोलाई पहिलो फिल्मको ट्रेलरमा ‘बाघ’को उपमा दिए पनि पत्रकार र दर्शकमाझ लुकाएका छन्। तर, बिहीबार भने विराजले छोरो सार्वजनिक गरे।

बिहीबार पत्रकार सम्मेलनमा विराजले आफ्नो फिल्मको एक्सनलाई दक्षिण भारतीय फिल्मसँग तुलना गर्दै दर्शक ओहरिने दाबी गरे।

‘नेपाली सिनेमाहरू जति पनि बनिरहेका छन्। कमेडी सिनेमाको कहिले पनि मिडियाले, दर्शकले बाहिरको सिनेमासँग कम्पियर गर्दैनन्,’ उनले भने, ‘अग्र्यानिक मुभि भन्नेहरूको पनि कही कसैसँग पनि तुलना गर्दैनन्। फ्यामिली ड्रामामा पनि कहीकतै तुलना गर्दैन। जब हामी एक्सन फिल्म बनाउन थाल्छौँ तब केजीएफ, पठान र सलार जस्तो छ भनेर कुरा आउँछ।’

उनले आफ्नो छोराको ज्यानलाई बलिउड फिल्म ‘सलार’को हिरो प्रभाससँग नै तुलना गरे।

‘के हामी त्यस्तो फिल्म बनाउन सक्छौँ त? सक्दैनौ, यर्थाथ कुरा यही हो,’ उनले थपे, ‘हामी के मात्र सक्छौ त? सायद अहिले समिरको बडी, त्यो सलारको हिरो वा केजीएफको हिरो यशभन्दा राम्रो लागेको हुनसक्छ।’

उनको पहिलो निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ले हलमा पानी भन्न पाएन। पहिलो निर्देशकीय फिल्म नै फ्लप भएपछि उनले यो फिल्म बनाउनका लागि झण्डै चार वर्ष कुर्नुपर्यो।

आफूले निर्माण गरेको यो फिल्म पनि फ्लप भएको खण्डमा चुप लागेर नबस्ने दाबी गरे। उनले फिल्म चले पनि नचलेपनि अर्को फिल्म निर्माणमा जुट्ने ठोकुवा गरे।

‘यो एउटा सिनेमा बनाएर म चुप लागेर बस्ने मान्छे पनि होइन र म जोखिमपूर्ण सिनेमा बनाउन चाहन्छु,’ उनले भने, ‘यो इन्ड्रिस्टीलाई अलिकति अगाडि कसरी लाने भन्ने मेरो सोचाइ त्यो हो। हैन भने, मसँग बढी पैसा भएर साउथको टेक्निसियन राख्या होइन। केहि फरक दिउँ भनेर नै राख्या हो।’

असोज १७, २०८१ शुक्रबार १४:०९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।