१८ दिनपछि स्वदेश फर्कँदै परराष्ट्रमन्त्री राणा

१८ दिनपछि स्वदेश फर्कँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा विभिन्न कार्यक्रममा सहभागी भएर १८ दिनपछि स्वदेश फर्कँदै छिन्।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहेकी उनी आज स्वदेश फर्कँदैछिन्।

सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन्।

सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता थियो।

सो सम्मेलनलाई सम्बोधनपछि मन्त्री डा राणाले बिहीबार किर्गिज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यान्माका उपप्रधानमन्त्री तथा विदेशमन्त्री यु थान स्वे, साउदी अरेबियाका युवराज एवं विदेशमन्त्री फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरिन्।

त्यसैगरी मन्त्री डा राणासँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारसम्बन्धी राज्यमन्त्री डा थानी अहमद अल जियोदीले पनि शिष्टाचार भेटवार्ता गरिन्। ती भेटहरूमा आपसीहित र चासोका विविध विषयका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे कुराकानी भएको थियो।

परराष्ट्रमन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा र कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा सहभागी हुन भदौ ३१ गते क्यानडा प्रस्थान गरेकी थिइन्।

असोज १७, २०८१ शुक्रबार १२:२५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।