लालीगुराँसका विद्यार्थीलाई छैन खानेपानी, अव्यवस्थित शाैचालयले बढ्यो रोगको जोखिम

लालीगुराँसका विद्यार्थीलाई छैन खानेपानी, अव्यवस्थित शाैचालयले बढ्यो रोगको जोखिम

रानागैरा : सुर्खेतको चाैकुने गाउँपालिका वडा नम्बर ५ रानागैरा स्थित लालीगुराँस प्राथमिक विद्यालयका विद्यार्थीहरू खानेपानी र शाैचालयकाे अभाव झेलिरहेका छन्।

३७ जना विद्यार्थी रहेकाे यस विद्यालयमा न त खानेपानी छ नत व्यवस्थित शाैचालय नै। भएको शाैचालय पनि जीर्ण अवस्थामा छ। खानेपानी समेत घरबाट लैजानुपर्ने बाध्यता छ यहाँका विद्यार्थीलाई।

शाैचालय गर्न १५ मिनेट टाढा घरमा जानुपर्ने बाध्यता रहेकाे कक्षा ५ मा अध्यनरत आरुसी सिजाली मगरले गुनासाे गरिन्।

‘स्कुलमा पानी छैन। खानेपानी घरबाट पानी लिएर जानुपर्छ। पानी नभएका कारण शाैचालय पनि प्रयाेगविहीन र जीर्ण छ,’ उनले भनिन्, ‘स्कुल गएको बेला शाैचालय जान १५ मिनेट घरमा हिँडेर आउनपर्छ।’

शाैचालयकाे व्यवस्थित हुन नसक्नुकाे मुख्य कारण पानीको अभाव रहेको प्रध्यानाध्यापक तुल बहादर थापाले बताए। यसले विद्यार्थी र शिक्षकलाई समेत संक्रामक रोगको जोखिम बढाएको उनको भनाइ छ।

‘मानिसलाई पिउने पानी पनि एक घण्टा टाढाबाट ल्याउनुपर्छ। कहिलेकहीँ त पिउने पानी पनि पाइँदैन,’ उनले भने, ‘त्यसैले पनि खानेपानी र शाैचालय गर्न विद्यार्थी घरमा जानुपर्ने बाध्यता छ।’

पालिका र प्रदेश सरकारले बनाएकाे चार काेठे भवनले पनि पूर्णता नपाउँदा विद्यार्थीहरू पुराना र जीर्ण भवनमा पढ्न बाध्य छन्। विद्यालयमा खानेपानी र शौचालयको सुविधा नभएपछि बालबालिकाको पढाइमा समेत असर गरेको प्रधानाध्यापक थापाले बताए।

विद्यालयमा खानेपानी अभाव भए पनि सरोकारवाला निकाय माैन बसेकोमा स्थानीय आक्रोशित छन्। वडा सदस्य समेत रहेका साेही वडाका स्थानी तपेन्द्र बिसी, पटक-पटक समस्याको बारेमा पालिकालाई जानकारी गराउँदा पनि काम हुन नसकेको बताउँछन्।

चाैकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले पानीको उपयुक्त मुहान नहुँदा समस्या समाधान गर्न नसकिएको तर्क गरे। अब मुहानकाे व्यवस्थापन गरेर प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर समस्या समाधान गरिने उनको भनाइ छ।

रानागैरा मात्रै हाेइन, चाैकुने गाउँपालिका-५ का  धारापानी, पुच्मा र रेक्चाका विद्यालयमा समेत खानेपानी र शाैचालयकाे अभाव छ।

असोज १७, २०८१ शुक्रबार १०:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।