'नेपालले विद्युत् बिक्रीमा ऐतिहासिक फड्को मार्यो'

'नेपालले विद्युत् बिक्रीमा ऐतिहासिक फड्को मार्यो'

काठमाडौं : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको बिजुली बङ्गलादेश पुर्याउने सम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताएका छन्। 

नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको र यसले आगामी दिनमा थप आयाम विस्तार गर्ने भन्दै उनले त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुंगा भएको दाबी गरे।

मन्त्री खड्काले नेपालले इतिहासमै पहिलोपटक जलविद्युत् ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागेकाले यो समारोह नै ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको बताए। 

'आजको यो उपलब्धि सन् २०१८ देखि नेपाल र बङ्गलादेशले ऊर्जा क्षेत्र सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि संयुक्त कार्यदल र संयुक्त सञ्चालन समितिको छ वटा सफल बैठक तथा त्यसपछिको निरन्तर प्रयासको प्रतिफल हो', उनले भने। 

मन्त्री खड्काले नेपालले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट जलविद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त भएको स्मरण गर्दै १५ हजार मेगावाट निर्यातका लागि उपयोग हुने बताए। त्यसमध्ये पनि पाँच हजार मेगावाट बङ्गलादेशका लागि नै भएको उनको भनाई छ।

उनले बङ्गलादेश, भुटान, भारत र नेपालमा ग्रिड पूर्वाधार एकीकृत गरेर जलविद्युत् विकासलाई गति दिन सकिने बताए। आजको त्रिपक्षीय सम्झौताले फराकिलो बहुपक्षीय ऊर्जा साझेदारीको घोषणा गरेको उनको भनाई छ।

बङ्गलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले दक्षिण एसियाको ऊर्जा सहकार्यका लागि आजको सम्झौता ऐतिहासिक कोशेढुंगा भएको बताइन्। 

नेपालका लागि भारतका राजदूत नीवन श्रीवास्तवले दक्षिण एशिया उपक्षेत्रीय विद्युत् साझेदारीका लागि आफ्नो देश प्रतिबद्ध रहेको भन्दै विद्युत् निर्यातका सन्दर्भमा नेपालका लागि आजको दिन महत्वपूर्ण रहेको बताए। नेपालले भारतमा विद्युत् निर्यात गर्न थालेदेखिकै ठूलो उपलब्धि हासिल गरेको उनको भनाइ छ। 

कूल ३० मेगावाटबाट सुरू भएको बिजुली निर्यातको यात्रा एक हजार मेगावाट बराबर पुगेको भन्दै उनले भारतीय कम्पनीहरू नेपालमा लगानीका लागि खोजिरहेको बताए।

असोज १६, २०८१ बिहीबार २२:००:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।