कलाकार रश्मीका हिजोको कुरा : छोरा मान्छेसँग हिँड्यो भने गर्भवती भइन्छ भन्थे, फिल्मको सिनमा पानी परेपछि बिस्कुन भिज्यो भनेर दर्शक हलबाट बाहिरिए

कलाकार रश्मीका हिजोको कुरा : छोरा मान्छेसँग हिँड्यो भने गर्भवती भइन्छ भन्थे, फिल्मको सिनमा पानी परेपछि बिस्कुन भिज्यो भनेर दर्शक हलबाट बाहिरिए

सानै उमेरमा फिल्म ‘मायाको जाल’मा अभिनय गरेकी कलाकार हुन् रश्मी भट्ट। उनले तीन दशकयता १५ सय भन्दा बढि फिल्ममा अभिनय गरिसकेकी छन्। टेलिफिल्म तथा गीतमासमेत अभिनय गर्दै आएकी उनी पछिल्लो समय व्यस्त कलाकारका रूपमा चिनिन्छिन्। पहिलो फिल्ममा त्यसबेलाकी चर्चित अभिनेत्री सारांगा श्रेष्ठको साथीको भुमिका गरेपछि दर्जनौं फिल्ममा उनलाई अफर आयो। तर, उनले ६ कक्षामा पढिरहेको भएर पढाई बिगार्न चाहिनन्। 
 
छोरी मान्छेले पढ्नु हुँदैन, कुनै केटा मान्छेसँग बोल्नु हुँदैन, अझ छोयो भने गर्भवती भइन्छ भन्ने मानसिकताले स्कुलमा पनि अलग्गै बस्ने समयमा उनको बाल्यकाल गुज्रियो। छोरी मान्छे घरैमा बस्नुपर्छ बाहिर खुट्टा निकाल्नु हुँदैन भन्ने समयमा कार्की परिवारमा जन्मिएकी रश्मीको भट्ट थरका उपाध्याय ब्राह्मणसँग मागी विवाह भएको हो। अन्तर्जातीय विवाह उनले तीतो अनुभव व्यहोर्नुपर्यो।

उनले त्यो बेलामा देखेका, भेटेका र अनुभव गरेका कुरालाई उकेराको कोलम हिजोको कुराकानीमा यसरी सुनाइन् :

000

छोरी चेलीलाई पढाउनु हुँदैन भन्ने समयमा म पढेँ
मेरो जन्म भक्तपुरको तत्कालीन गुण्डु गाविस वडा नम्बर ५ मा भयो। अहिले सूर्य विनायक नगरपालिका ७ भएको छ। म सानैदेखि बोर्डिङ स्कुलमा पढ्न पाउने भाग्यमानी बच्चा हो। मलाई मेरो फुपूले शान्ति निकेतन आवासीय माध्यमिक विद्यालयमा पढाउनु भएको हो। म र मेरो भाइ एउटै बोर्डिङमा पढ्थ्यौँ। मेरो फुपूले ३२ सालमा ब्याचलर पास गर्नुभएको थियो। त्यही भएर पनि हामीले पढ्ने अवसर पायौँ। त्यसो त मेरो बुबा पनि टियुको प्राज्ञ हुनुहुन्थ्यो। 

त्यतिबेला पढेलेखेको घर भन्नेबितिक्कै अलिकति मान्छेहरूले हेर्ने नजर फरक हुन्थ्यो। किनभने त्यतिबेला छोरीचेलीलाई पढाउनु हुँदैन भन्ने चलन थियो। मेरो बुबा र फुपू नै शिक्षित भएको हुनाले मैले राम्ररी पढ्ने अवसर पाएँ। त्यतिबेला अनुशासन एकदमै कडा थियो। समाजमा छुट्टै पहिचान बनाउनुपर्छ, चिनिनुपर्छ भन्ने बुबाआमाले भनिरहनु हुन्थ्यो। 

हाम्रो परिवारमा एकजना बुबाले कमाएर पाँचजना छोराछोरीलाई पढाउनुपर्ने, हुर्काउनुपर्ने बाध्यता थियो। चार छोरी र एक भाइमध्ये म माहिली हो। स्कुलको कुरा गर्ने हो भने, केटाकेटी एउटै बेञ्चमा बस्दैन थिए। एउटै बेच्नमा बस्यो भने गर्भवती नै भइन्छ भन्ने मानसिकता थियो, त्यो समयमा । 

‘मायाको जाल’ फिल्म सारांगा श्रेष्ठसँग फिल्म खेल्दा ‘अब यो पोइल जान्छे’ भन्थे
म स्कुल पढ्दादेखि नै अभिनय, नाचगानमा रूचि राख्थेँ। कक्षा ६/७ मा पढ्दै गर्दा होला, हाम्रो घरमा फिल्म ‘मायाको जाल’ सुटिङ भएको थियो। यो फिल्ममा जमिन्दारको घर जुन देखाइएको छ, त्यो हाम्रो घर हो। 

महेश मुडभरीको निर्देशनमा बनेको यो फिल्मको हिरोइन् सारांगा श्रेष्ठको साथीको भुमिकामा मैले काम गर्ने मौका पाएँ। घरमा नै सुटिङ भएको हुनाले निर्माण टिमले मलाई अवसर दिनुभएको थियो। त्यो बेला नेपालको एकदमै नाम चलेको हिराइन् सारांगा श्रेष्ठसँग काम गर्न पाउँदा एकदमै खुशी लागेको थियो र अहिले पनि छ। 

त्यो फिल्ममा एउटा सिन छ, जहाँ सारांगाको बुबा बितेपछि तुलसीको मठमा राखिएको हुन्छ। त्यसमा सारांगाले आफ्नो बुबा बित्दाको रोल एकदमै राम्रो गर्नुभएको थियो। त्यो दृश्यले मलाई एकदमै तान्यो। आज फर्केर हेर्दा लाग्छ, त्यो नै मेरो अभिनय यात्राको मार्ग दर्शनको बाटो बन्न पुग्यो। त्यसैले सारांगा श्रेष्ठ नै मेरो गुरू हो भन्ने लाग्छ। 

उहाँको त्यो अभिनय नदेखेको भए र उहाँसँग मैले अभिनय गर्ने मौका नपाएको सायद अहिले म कतै जागिर खाइरहेको हुन्थेँ होला। उहाँले कस्तो राम्रो गाइड गर्नुभएको थियो। त्यो अहिले पनि म सम्झन्छु। अभिनयमा अहिले पनि म सिकिरहेको छु, यो अभिनय जति सिके पनि अझै सिक्नुपर्ने रहेछ भन्ने लाग्छ। 

उहाँसँग पहिलो पटक अभिनय गरेपछि दोहोर्याएर मैले फिल्म खेल्ने मौका पाएको छैन। उहाँ अहिले अमेरिकामा हुनुहुन्छ। सामाजिक सञ्जालमार्फत हाम्रो कुराकानी हुन्छ तर, फिल्म खेल्ने सहकार्य गर्ने अवसर अहिलेसम्म जुरेको छैन।  

मैले त्यो पहिलो फिल्म खेलेपछि छरछिमेकीले 'रश्मीले फिल्म खेली, अब यो पोइल जान्थे, खत्तम हुने भई' भन्ने गर्थे। यो फिल्मपछि मलाई धेरै फिल्ममा काम गर्ने अवसर आएको थियो। त्यहीबेला हिजो आजको हास्य टेलिश्रृंखलामा सन्तोष पन्तले हिरोइन्को भुमिकामा अफर गर्नुभएको थियो। तर, म सानै भएको हुनाले खेल्न पाइँन।

छोरा मान्छेसँगै हिँड्यो भने गर्भवती भइन्छ भन्थे
त्यतिबेलाको समयमा 'छोरीचेलीले केही गर्नै हुन्न, बाहिर निस्किनै हुन्न' भन्ने थियो। कुनै पनि छोरा मान्छेसँग आँखा जुधाएर बोल्न पनि हुन्न र कुम जुधाएर हिँड्न पनि हुन्न भन्थे। अनि सँगै काम गर्नु त परको कुरा भैगो। जुन मैले देखेको र भोगेको पनि छु। 

स्कुल छुट्टीहुँदा गेट बाहिर निस्किने बेलामा, ठेलामठेल भएर केटा मान्छे सँगै जस्तो भइन्थ्यो। तर, गेट बाहिर निस्किसकेपछि चारैतिर फैलिसक्थ्यो। किनभने छोरा मान्छेसँग कुम जुधाएर, नजिक भएर हिँड्यो भने कुरा काट्छन् समाजमा भन्ने थियो। यो सुन्दा अहिलेका मान्छेहरूलाई हाँसो लाग्दा तर, यथार्थ के थियो भने, त्योबेला छोरा मान्छेसँगै हिँड्यो भनेपनि गर्भवती भइन्छ भन्ने जमाना थियो। 

काठमाडौं नजिकैको जिल्ला भक्तपुरमा त यस्तो थियो भने अरू ठाउँमा कस्तो थियो होला। त्यस्तो समय, त्यस्तो संस्कारमा हुर्किएर, अहिले यो समयसम्म आइपुगेको छु। फिल्ममा काम गर्दा त्यतिबेला बिग्रेला, नासिएला भन्ने धेरैलाई चिन्ता हुन्थ्यो, अहिले गोरू बेचेको नाता लगाएर मेरो छोरी, मेरो नानु मेरो फलाना भन्नुहुन्छ। त्यतिबेला त्यस्तो गर्नु हुन्थेन। फिल्ममा खेलेको भन्नेबितिक्कै नाक खुम्च्याउने चलन थियो। अहिले समय ठ्याक्कै फेरिएको छ। अहिले मलाई आफूले राम्रै काम गरेको रैछु भन्ने लाग्छ। 

बुबाको चाहना वकिल बनोस् भन्ने तर, भएँ कलाकार 
म सानैबाट निडर रूपमा बोल्ने केटी थिएँ। त्योबेला पनि म हरेक कुरामा बोल्थेँ, बोल्नमा फरवार्ड थिएँ। त्यही भएर होला, मेरो बुबाको चाहना माइली छोरी (मलाई) वकिल बनाउने थियो। बुबाले यसलाई (मलाई) देशको ठुलो मान्छे बनाउनुपर्छ भन्नुहुन्थ्यो। तर, म कलाकार भएँ, वकिल बन्न सकिँन। म कलाकार हुँदा पनि बुबा खुशी हुनुहुन्थ्यो। अहिले त बितेर जानुभएको पनि ५ वर्ष भयो। 

कहिलेकाँही त बुबाको चाहना पुरा गर्न सकिन कि भन्ने पनि लाग्छ। तर, कलाकारिताबाट पनि मैले आफूलाई चिनाउने कोशिश गरें। फलानाको बुवा रे भन्दा दंग पर्नुहुन्थ्यो। यसमै खुसी छु।   

कार्कीको छोरी भट्टसँग विवाह 
म र मेरो श्रीमानको भेट रेडियोमा भएको हो। मेरो श्रीमान भोजराज भट्ट हो अनि म त्यतिबेला रश्मी कार्की। उहाँसँग विवाह गर्ने हिसाबले चिनेको पनि होइन। सँगै बसेर कफी खाएको पनि होइन, कतै घुम्न गाको पनि होइन। एउटै रेडियोमा काम गर्दाको समयमा चिनजान भएको थियो। उहाँ घरको कान्छो छोरा अनि त्यहीबेला उहाँको परिवारले उमेर पुगेको भन्दै बिहे गरिदिन ठिक लाग्नुभएको रहेछ। 

उहाँले एकदिन मलाई 'तपाईं एकदमै मन पर्छ, मेरो घरमा विवाहको कुरा चलिरहेको छ, म तपाईंसँग विवाह गर्छु नि ल' भन्ने खाल्को कुरा गर्नुभयो। मलाई अहिले पनि उहाँले त्यो भन्नु भएको कुरा प्रष्ट रुपमा याद छ। अफिसमा नै उहाँले त्यसो भनेपछि मैले मानिँन। त्यसपछि उहाँ मेरो फुपूसँग कुरा गर्न जानुभयो। अनि त हामीले घरमा नै जग्गे राखेर, खड्कुलोमा खुट्टा धोएर नै अन्तर्जातीय विवाह गर्यौं। उहाँ उपाध्याय बाहुन म कार्की क्षेत्री। अन्तर्जातीय विवाह गर्दा अलिक पछि समस्या भयो। घरको भान्सा चुलोमा अलिक गाह्रो भयो।
 
अहिले त त्यस्तो केही हुँदैन। किनभने अहिले समयले धेरै परिवर्तन ल्यायो। त्योबेला पनि मलाई भेदभाव गर्दा मैले चिन्ता र पिर कहिल्यै लिइँन। म त्यस्तो कुराको वास्तै नगर्ने मान्छे परें नि त। म आफैंले गल्ती गरेको छु, मैले नै किन चिन्ता गर्ने? मेरो ससुरा बुबाले चाहिँ बित्नुभन्दा अघि पनि 'कान्छी पितृ श्रद्धामा चाहिँ छोइछाई नगर्देउ है' भन्नुभएको थियो। उहाँले भनेको कुरा मैले मानेको छु। नहुने ठाउँमा मैले छोएर दोसल्ला पाउने पनि होइन। 

फिल्मको पर्दामा पानी पर्दा हलबाट दर्शक बाहिरिन्थे, बिस्कुन भिज्यो भनेर!
निकै अगाडिको कुरा हो, नवदुर्गा हल भक्तपुरमा पहिलो पटक फिल्म हेर्न पुगेका थियौँ। नेपाली फिल्म नै लागेको थियो। त्यो हलमा मेरो साइलो हजुरबुबा गेटपाले हुनुहुन्थ्यो। त्यही भएर हजुरबुबाले त्यो हलमा सित्तैमा छिराउनुभएको थियो। भक्तपुरका नेवार समुदाय लगायतले हल भरिभराउँ थियो। 

फिल्म हेर्दै जाँदा फिल्मको सिनमा पानी पर्यो। हलको पर्दामा पानी परेको देखेपछि सबैजना 'ला आज बिस्कुन सुकाको थियो, सबै भिज्यो' भनेर हुरूरू सबैजना बाहिर निस्के। हामी पनि बाहिर निस्केको त केको पानी पर्थ्यो!, टन्टलापुर घाम पो लागिरहेको थियो। जुन कुरा अहिले पनि सम्झेर बेला-बेला मलाई हाँसो लाग्छ मलाई। 

असोज १७, २०८१ बिहीबार २१:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।