संयुक्त राष्ट्रसंघले नाइजेरियाका बाढी पीडितका लागि पाँच करोड डलर सहयोग गर्ने

संयुक्त राष्ट्रसंघले नाइजेरियाका बाढी पीडितका लागि पाँच करोड डलर सहयोग गर्ने

एजेन्सी : संयुक्त राष्ट्रसंघले बुधबार नाइजेरियामा बाढी पीडितहरूको सहयोगको लागि पाँच करोड अमेरिकी डलर ऋण जारी गरेको छ।

केन्द्रीय आपतकालीन राहत कोषबाट प्राप्त रकमले नाइजेरियाका बाढी प्रभावित बोर्नो र बाउची र उत्तरपश्चिम राज्यहरूमा आधारभूत आवश्यकतालाई सम्बोधन गर्न मद्दत गर्ने राष्ट्रसंघले जानकारी गराएको छ। 

बाढीले पश्चिम अफ्रिकी देश नाइजेरियाका ३६ राज्यमध्ये कम्तीमा ३१ राज्यमा १२ लाखभन्दा बढी मानिसलाई असर गरेको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएको छ। त्यहाँ बाढीका कारण करिब एक लाख २७ हजार ५०० हेक्टरको बालीसमेत प्रभावित भएको छ।

नाइजेरियामा बाढीले निरन्तरको सङ्कटभित्र पनि थप सङ्कट सिर्जना गरेको नाइजेरियाका लागि संयुक्त राष्ट्रसंघीय संयोजक मोहम्मद मलिक फलले बताए। 

त्यहाँ आर्थिक कठिनाईका कारण लाखौं मानिसहरूले बाढी अघि नै खाद्य असुरक्षाको सामना गरिरहेका थिए। यसको कारण गरीब परिवारमा अनिकालको लागेको छ। 

बाढीको चपेटामा परेका नाइजेरियाका धेरै राज्यहरूमा हैजा सङ्क्रमणका विरामी पनि भेटिएका छन्।

गत महिना, बोर्नो राज्यको राजधानी, उत्तरपूर्वी शहर मैदुगुरीमा गम्भीर बाढी प्रकोपले कम्तीमा ३१ जनाको ज्यान लिनुका साथै चार लाख मानिसलाई विस्थापित बनाएको थियो। 

असोज १६, २०८१ बिहीबार २०:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।