खुर्काेट-घुर्मी सडक एकतर्फी खुल्यो, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, खोटाङ जाने सवारी लाभमा

खुर्काेट-घुर्मी सडक एकतर्फी खुल्यो, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, खोटाङ जाने सवारी लाभमा

काठमाडौं : मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट-घुर्मीखण्ड आजदेखि एकतर्फी रूपमा खुलेको छ। केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरूद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो। 

राजमार्गमा दुवैतर्फबाट दुई-दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा आज दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए। 

उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्काेटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रूपमा सडक सञ्चालन ल्याइएको हो।

दुवैतर्फबाट झरेको पहिरो पन्छाउँदै अघि बढेका डोजर र स्काभेटरले स्थानीय कालिआँपको पहिरो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको उपाध्यक्ष न्यौपानेले बताए। खुर्काेट-घुर्मी खण्ड ६१ किलोमिटर लामो दूरीको छ। 

राजमार्ग सञ्चालनमा आए पनि यस क्षेत्रमा वर्षाले जमिन कमलो बनाएकाले सुख्खा पहिरोको जोखिम कायम रहने भन्दै रात्रिकालीन यात्रा गर्नु जोखिमपूर्ण हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस खण्डमा यात्रामा रहनेले उच्च सतर्कता अपनाउनुपर्ने उपाध्यक्ष न्यौपानेले बताए। 

सयौंको सङ्ख्यामा यस खण्डमा स-साना पहिरो झरेका छन्। हाललाई सामान्य रुपमा पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ। 

यस खण्डअन्तर्गत सबै स्थानमा अहिले ठूला सवारीसाधन सहज रुपमा सञ्चालन गर्न चुनौतीपूर्ण बनेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए। साना तथा मझौला सवारीसाधन, एम्बुलेन्सलगायत दुई पाङ्ग्रे सवारीलाई कुनै समस्या छैन। 

त्यस राजमार्ग अवरूद्ध भएसँगै ओखलढुङ्गा, उदयपुर, सिन्धुली, सोलुखुम्बु र खोटाङलगायत क्षेत्रमा बन्द भएको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। मध्यपहाडी राजमार्गको उक्त खण्ड भई सामान्य अवस्थामा दैनिक सयौं तथा दशैं, तिहारजस्ता चाडबाडमा हजारौँको सङ्ख्यामा साना तथा ठूला सवारीसाधन गुड्दै आएका छन्।  

असोज १६, २०८१ बिहीबार १७:५६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।