ट्रेलरको ट्विस्ट र जीतुको वनलाइनर डायलगले चल्छ त 'ज्वाइँ साब' !

ट्रेलरको ट्विस्ट र जीतुको वनलाइनर डायलगले चल्छ त 'ज्वाइँ साब' !

काठमाडौँ : फिल्म प्रदर्शनको मिति घोषणा भएदेखि नै चर्चामा रहेको फिल्म 'ज्वाइँ साब' गीत अनि टिजरसम्म आइपुग्दा फिल्मको कन्टेन्टभन्दा त्यही मितिमा रिलिज हुने छक्कापञ्जाका सदस्य र जितु नेपालबीचको मनमुटाबको प्रशंग बढी हिट भयो।

आखिर जितु किन अनि कसका कारण छक्कापञ्जा टिमबाट बाहिरिन बाध्य भए? बहसको मूल कन्टेन्ट यही थियो भने भिलियनका रूपमा देखिए दीपक अनि दीपाको इगो।

फिल्म 'ज्वाइँ साब'को चर्चाको अर्को कारण हास्य कलाकारबीचको भिडन्त पनि थियो। त्यसमा छक्कापञ्जाले प्रमोसनका लागि ल्याएको दुवै गीत शब्दका कारण अति विवादित भयो। मध्यम भए पनि 'ज्वाइँ साब'को कसम बत्तीकोलाई नै धेरैले रुचाए।

प्रमोसनभन्दा डिमोर्सन नै बढी भएपछि अहिले छक्कापञ्जा टिम फिल्मबारे मौन समान रहेको बेलामा बिहीबार 'ज्वाइँ साब' टिमले वन लाइनर डायलगसहितको ट्रेलर सार्वजनिक गर्यो।

‘पाक्न त पाक्यो तर अर्कैले खायो’, ‘माया भनेको सर्टमा लागेको कटरको चोप जस्तो हो, लागेपछि लाग्यो, लाग्यो’ जस्ता डायलगसहितको ट्रेलरले फिल्ममा प्रशस्तै ट्विस्ट र टर्न भएको देखाएको छ।

यस अगाडि सार्वजनिक भएका प्रचार सामाग्रीहरूले फिल्मबारे जे आङ्कलन भइरहेका थिए ट्रेलर त्यो भन्दा निकै भिन्न देखायो यसको कथा।

हास्य कलाकारहरूको सङ्ख्या टन्नै भएको फिल्मको मूल थिम हाँस्यविधामा हल्का सामाजिक सन्देशसहित हुनसक्ने देखाए पनि ट्रेलर जहाँ लगेर बिट मारिएको छ त्यसले दर्शकमा पक्कै कौतुहलता बढाएको देखिन्छ।

मुख्य रूपमा 'छक्कापञ्जा' मात्रै हैन, यो फिल्मले अर्को एक्सन मुभी '१२ गाउँ'सँग पनि प्रतिस्पर्धा गर्नु पर्ने छ हलमा। बिराज भट्टको छोराको डेब्यु फिल्मको राम्रै हल्ला छ। तर सार्वजनिक प्रचार सामाग्रीमा राखिएका एक्सनका सिनप्रति दर्शक त्यति उत्साहित देखिएका छैनन्। साउथको फाइट सिनका लागि साउथ फिल्मै आइरहेका छन्, नयाँ शैली के त? सञ्जालमा प्रश्न बढिरहेकै छन्।

विधाका आधारमा यो पटक प्रतिष्पर्धा जीतुको इमानी छवी र दीपा-दीपकको इगोबीच नै देखिन्छ। त्यसमा कन्टेन्टको महत्व त हुने नै भयो।

रिलिज मिति निकट आइसकेको छ। छक्कापञ्जा टिम त्यति सहजै हार मानिहाल्ने स्वभावको टिम हैन। दुई वटा गीतले हावा खाए पनि अन्तिममा खेल आफ्नो पोल्टामा पार्न पक्कै दीपकको दिमाग चलिरहेकै होला।

अब धमाकै प्रचार सामाग्री आएर दर्शकको पुरै ध्यान उतैतिर गए एउटा कुरा, नत्र हलमा यो पटक छक्कापञ्जाको एकलौटी कब्जाको सम्भावना भने निकै कमजोर देखियो। एक त '१२ गाउँ' भयो नै अर्को 'ज्वाइँ साब'ले पनि बाक्लै दर्शकलाई आफ्नो शोतिर तान्ने सम्भावना बलियो देखायो बिहीबारको ट्रेलरले।

यस पटक इगो धुलो हुन बेर छैन।

असोज १६, २०८१ बिहीबार १७:५५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।