बाढीले राजदेवी मन्दिर डुबेपछि दशैंको जमरा राख्न पनि सकिएन

बाढीले राजदेवी मन्दिर डुबेपछि दशैंको जमरा राख्न पनि सकिएन

काठमाडौं : महोत्तरीको जलेश्वर-२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण डुबानमा परेको छ।

मन्दिरको गर्भगृहमा चार फिट पानी जमेको छ। पानी जमेकै कारण आज दशैंको घटस्थापनाको दिन माताको प्रतिमा अगाडि जमरा राख्न नसकिएको पूजारी राम पृत गिरीले बताए। 

पानीले माताको प्रतिमा डुबानमा परेको छ। मन्दिर बाहिरका भू-भाग पनि जलमग्न रहेको पूजारी गिरीले बताए।

पूजारी गिरीले मन्दिरको पछाडिपट्टीको खाली भागमा पूजा अर्चना गरी जमरा राखिएको बताए। त्यस मन्दिर जलेश्वर नगरपालिकाको सबैभन्दा होचो ठाउँमा रहेको कारण बाढी गएको पाँच दिन भइसक्दा पनि पानीको सतह कम नभएको हो। 

डुबानका कारण दशैंको पूजाआजा प्रभावित हुने अनुमान गरिएको छ।

पूजा समितिका अध्यक्ष अमितकुमार साहले सबै शक्ति पीठमा दशैंको पूजा अर्चना भइरहँदा जलेश्वर नगरपालिकालाई दमकल लगाएर माता राजदेवीको गर्भगृहको पानी बाहिर निकाल्न अनुरोध गरेपनि नगरपालिकाले चासो नदेखाएको गुनासो गरे। 

राजदेवी मन्दिरको गुफा, बाहिरी सतह र मन्दिर जाने बाटोसमेतमा पानी जमेको छ।  

असोज १६, २०८१ बिहीबार १५:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।