झ्याप्लेखोला पहिरोमा अस्ताएका वसन्तले एक बजे राति फोनमा भनेका थिए 'जंगलको बीचमा छु, जाम खुल्यो भने छिट्टै आइपुग्छु, चिन्ता नलिई सुत्नु'

झ्याप्लेखोला पहिरोमा अस्ताएका वसन्तले एक बजे राति फोनमा भनेका थिए 'जंगलको बीचमा छु, जाम खुल्यो भने छिट्टै आइपुग्छु, चिन्ता नलिई सुत्नु'

बरहथवा (सर्लाही) : गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका-९ झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका-२ का १८ वर्षीय वसन्तकुमार साहको मृत्यु भयो।

आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैंका लागि छोरा मात्रै गुमाएन, परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको सहारा पनि गुमायो। घरको जेठोबाठो छोरा वसन्त पढाइमा निकै मिहिनेती थिए।

'परिवारको दुःख हटाउँछु चिन्ता नगर्नु भनेर सधैँ मलाई सम्झाउँथ्यो,' बुबा भरत साहले भक्कानिँदै भने, 'धेरै पढेर ठूलो मान्छे बन्ने, दुई जना दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो। त्यो पूरा नहुँदै अस्तायो।'

छोराको शोक बारेर बसेका भरतले छोराको मृत्युसँगै आफ्नो परिवारको बिचल्ली भएको बताए।

'घरको एउटा खम्बा ढल्यो, अब कसले यो घरको काँध थाम्छ?, भरतले भक्कानिँदै भने।

४५ वर्षीय भरत सामान्य किराना पसल चलाउँछन्। परिवारको लालनपालन तथा छोराछोरीको शिक्षादीक्षाको एकमात्र आधार यही किराना पसल हो। थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरिको छाक टर्छ।

'छोराले राम्रो पढ्दै गएकाले अब दुःखको दिन गयो भन्ने लागेको थियो तर एकाएक बज्रपात पर्यो। घटना भएको दिनदेखि घरमात्र होइन, गाउँ नै शोकमा छ। परिवारमा पूरै अन्धकार छाएको छ। आमाको राम्रोसँग होस आएको छैन, उनले सुनाए।

वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए। कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरे। गत शैक्षिकसत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११–१२ पढ्न उनी काठमाडौं गएका थिए। दिदी विभाकुमारी साहसँगै बसेर उनी काठमाडौंको कलेजमा विज्ञान विषय पढ्दै थिए।

उनी एसइईका केही शैक्षिक प्रमाणपत्र लिन चितवन गएका थिए। शुक्रबार बिहान विद्यालयबाट कागजात संकलन गरेपछि त्यही साँझ उनी चितवनबाट माइक्रोबस चढेका थिए।

'फर्किँदा राति साढे १ बजेसम्म काठमाडौंमा भएकी दिदीसँग फोन सम्पर्कमै थिए। दिदी म आउँदै छु। जंगलको बीचमा जाममा छु। जाम खुल्यो भने छिट्टै आइपुग्छु। चिन्ता नलिई सुत्नु भनेको थियो,' विभाले भनिन्।

त्यसपछि फोन काटिएको उनले बताइन्। कुरा गर्दा गर्दै फोन काटिएपछि विभाले फेरि भाइलाई फोन लगाइन्। पटक्कै लागेन।

'भोलिपल्ट बिहानसम्म भाइको कुनै अत्तोपत्तो भएन। लगातार पानी परिरहेका थियो। बाढी र पहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्यो कि भन्ने आसमा खोजी सुरू गर्यौँ। बुबाआमालाई पनि सबै कुरा खबर गरिदिए। दिउँसोबाट झयाप्लेखोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियौँ। सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले,' उनले भनिन्।

आइतबारबाट वसन्तका बुबा र भिनाजु पनि खोजीमा निस्किए। चितवनदेखि नै पहिरो खसेको ठाउँमा सोधीखोजी गर्दै जाँदा झयाप्लेखोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौं लगेकाले उतै जान सल्लाह दिए।

'पहिरोले बाटो क्षतविक्षत भएकाले तत्काल जान सकिएन। काठमाडौंमा भएका आफन्तलाई पठायौँ। सोमबार बिहान छोराको शव पहिचान भयो,' भरतले भने।

छोराको मृत शरीर देखेपछि आफ्नो होस हराएको उनी बताउँछन्।

'घर कसरी आइपुगे होसै भएन। मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो। बाबा इन्जिनियर बनेर सरकारी सेवा गर्छु, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो,' उनले भने। -(सिंगबहादुर थापा/रासस)

असोज १६, २०८१ बिहीबार १५:०८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।