बीपी राजमार्ग : भकुण्डेबेँसी र नेपालथोकबाट सडक मर्मत थालियो, दशैं अघिसम्म बन्ला?

बीपी राजमार्ग : भकुण्डेबेँसी र नेपालथोकबाट सडक मर्मत थालियो, दशैं अघिसम्म बन्ला?

काभ्रेपलाञ्चोक : रोशी खोलाको बाढीले बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रूपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बाढीले सडक नै बगाएको थियो। 

रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। 

विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम सुरू गरेको हो। रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईमा कटान गरेको छ। 

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए। 

'हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्नेगरी अस्थायी सडक बनाउने काम गर्नेछौँ, उनले भने। 

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस-डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ। बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए। त्यसोहुँदा दशैं अगाडिसम्म सडक पूर्णरूपमा मर्मत हुन नसक्ने बुझिएको छ। 

अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई गत आइतबारदेखि हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। 

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ। माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ। 

त्यस राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो। सडक डिभिजन भक्तपुरले मंगलटारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नम्बर पुलदेखि नेपालथोकसम्म मर्मत सुरू गरेको हो। 

पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल-भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ। भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ। 

डिभिजनले काभ्रेतर्फबाट स्काभेटरलगायत चार उपकरण प्रयोग गरेको छभने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ। जनकपुरबाट आएका पाँच उपकरणले मंगलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ। 

हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेको भए पनि २९ किमीको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ। 

राजमार्गको कुल १६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ। 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमी ३५ करोड लागत थियो। सो रकम हालको मूल्यांकनअनुसार ५० करोडभन्दा माथि हो। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्यांकन प्रारम्भिक अनुमान दुई अर्बभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए। 

बीपी राजमार्गको भकुण्डे-नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। अवरूद्ध राजमार्गको नेपालथोक-खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ।  

जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास सडक) निर्माण सुरू गरिएको थियो। 

खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो।

असोज १६, २०८१ बिहीबार १४:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।