बंगलादेशले भारतसहित पाँच देशको कुटनीतिज्ञलाई फिर्ता बोलायो

बंगलादेशले भारतसहित पाँच देशको कुटनीतिज्ञलाई फिर्ता बोलायो

एजेन्सी : बंगलादेशको अन्तरिम सरकारले भारतका लागि उच्चायुक्तसहित पाँच देशका आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ। उनीहरुलाई ढाका फर्कन भनिएको छ।

भारतबाहेक अष्ट्रेलिया, बेल्जियम, पोर्चुगल र संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञहरूलाई फिर्ता बोलाइएको छ।

पछिल्लो समय बंगलादेशमा ठूलो राजनीतिक परिवर्तन भएको छ। दुई महिनाअघि भएको हिंसात्मक आन्दोलनपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

आन्दोलनका बीच तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएर देश छाड्नुपरेको थियो। त्यसपछि उनी भागेर भारत गएकी थिइन्।

यसअघि बंगलादेशले आफ्नो उच्चायुक्त सइदा मुना तस्नीमलाई बेलायतबाट फिर्ता बोलाएको थियो।

हालै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले त्यहाँ अमेरिका, पाकिस्तानलगायत धेरै देशका राष्ट्रप्रमुखसँग पनि भेट गरेका थिए।

असोज १६, २०८१ बिहीबार १४:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।