झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु
सांकेतिक तस्बिर

झापा : हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ।

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान वनबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

‘जंगली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ। खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो,’ सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ। मृतकको शव परिवारलाई बुझाउन कानूनी प्रक्रिया भइरहेको छ।’

झापामा केही वर्षयता जंगली हात्तीको आक्रमणबाट जंगल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ। वनमा घाँस दाउरा लिन, च्याउ र निगुरो टिप्न र गाईवस्तु चराउन जाँदा हात्तीले मानिसमाथि आक्रमण गर्दै आएको छ।

असोज १६, २०८१ बिहीबार १३:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।