बुटवलका अटेरी मासु व्यवसायीले पसल नै बन्द गरे, बधशाला आफैँले बेच्न थाल्यो सस्तोमा मासु

बुटवलका अटेरी मासु व्यवसायीले पसल नै बन्द गरे, बधशाला आफैँले बेच्न थाल्यो सस्तोमा मासु

बुटवल : खसी, बोकालाई पशु बधशालाबाट अनिवार्य बध गर्नुपर्ने नियमलाई कडाइ गर्न थालेपछि बुटवलका मासु व्यवसायीहरूले पसल नै बन्द गर्न थालेका छन्। बुटवलमा पछिल्लो समय बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले खसी, बोकाको मासु बिक्री गर्ने मासु पसलमा निरन्तर अनुगमन गरिरहेको छ।

बुटवल रामनगरमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी, बोकालाई बध गर्नुपर्ने नियमको पूर्ण कार्यान्वयन गर्न अनुगमन समितिले व्यवसायीलाई बारम्बार ताकेता गरेपछि व्यवसायीहरूले मासु पसल नै बन्द गरेका हुन्।

व्यवसायीहरूले बधशालामा बध गरेको खसी, बोकाको मासु बिक्री नगरेको भन्दै पहिलो चरणमा १० हजार जरिवाना गरेको थियो। त्यसपछि दोस्रो चरणमा अनुगमन जाँदा अधिकांश खसी, बोकाको मासु बिक्री गर्ने पसल व्यवसायीले बन्द गरेका छन्।

बुटवलमा सात दिनदेखि मासु पसलमा निरन्तर अनुगमन भइरहेको छ। बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले बुटवलबासीलाई स्वच्छ मासु खुवाउने अभियान अन्तर्गत सञ्चालन भइरहेको बधशालामा व्यवसायीहरूले खसी, बोका बध गर्नुपर्ने अन्यथा पसल नै बन्द गरिने बताए।

बिहीबार अनुगमन समिति सात वटा खसी, बोकाको मासु बिक्री गर्ने पसलमा अनुगमनका क्रममा पुगेको थियो। सो क्रममा सबै व्यवसायीहरूले पसलमा पसल बन्द गरेको जानकारी सहित सूचना टाँस गरेका थिए।

बुटवल-८ का हलाल मासु तथा माछा पसल, ताहिर माछा मासु पसल, गैरे मासु पसल, बुटवल-७ को द हिमालय क्राउन बुचरी, बुटवल ४ को सोल्टी मासु पसल, बुटवल १० को न्यू रेहमान मासु पसल र रेहान मासु पसलमा अनुगमन टोली पुग्दा पसल बन्द गरेको सूचना व्यवसायीले टाँस गरेका थिए।

बुटवल उपमहानगरपालिकाले नगरबासीलाई स्वच्छ र गुणस्तरीय मासु पाउने व्यवस्थाको लागि बधशालामा गएर मासु काटन व्यवसायीलाई आग्रह बारम्बार आग्रह गरेपनि व्यवसायीले अटेरी गरिरहेको पोखरेलले बताए।

उपमहानगरपालिकाले ऐन बनाएर खसी, बोका बाहिर बध गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशु बधलाई बन्द गराउन लागिरहेको छ।

मासु व्यवसायी संघका अध्यक्ष विशाल थापाले ठेक्का पाएको कम्पनीलाई मात्र फाइदा हुने गरी एकपक्षीय ऐन कानून बनाइएको भन्दै उक्त ऐन नसच्चाएसम्म आफूहरू बधशालामा जान नसकिने बताए।

बधशाला ऐन र कार्यविधि बनाउँदा मुख्य सरोकारवाला पक्ष मासु व्यवसायीहरुले राखेका माग र सुझाव नसमेटिएको उनको भनाइ छ। व्यवसायीका जायज माग माग नसुनी जबर्जस्ती गरे सैह्य उनले बताए।

अहिले बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले बाहिर पशु बध गर्नेलाई पहिलो चरणमा १० हजार र दोस्रो चरणमा पनि पसलमा मासु काटेको भेटेपछि २५ हजार रुपैयाँसम्मको जरिवानाको पत्र काटेको छ। यसपछि पनि मासु काटे ५० हजार जरिवाना गर्ने बताएको छ। तर, व्यवसायीहरू पसल नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

सस्तोमा स्वच्छकर मासु बिक्री गर्दै बधशाला
मुक्तिनाथ कृषि कम्पनीको सहायक कम्पनी मुक्तिनाथ लाइभस्टक बैंकले व्यवसायी तथा उपभोत्तालाई बजार मूल्य भन्दा सस्तो मुल्यमा स्वच्छकर मासु बिक्री गरिरहेको छ।

बुटवलका तीन स्थानमा आउटलेट राखेर उसले मासु बिक्री गरेको छ। मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले चाडबाडको अवसर पारेर मासुको खपतलाई वृद्धि गर्न तथा मासु व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको बताए।

उनले व्यावसायिक प्रयोजनको निमित्त मासु व्यवसायीहरूलाई उपलब्ध गराएको दररेटमा आकर्षक छुट दिइएको बताए। उक्त छुट बमोजिम मासु व्यवसायीहरूले प्रतिकेजी आठ सय रुपैयाँमा प्रशोधित मासु प्राप्त गर्न सक्नेछन्।

त्यस्तै व्यवसायीहरूबाट प्राप्त खसीबोका प्रशोधनको लागि उपमहानगरपालिकाले तय गरेको दररेटमा समेत ३० प्रतिशत छुट गरेको र व्यवसायीहरूकोबाट निःशुल्क खसीबोका संकलनको व्यवस्था समेत मिलाएको अध्यक्ष आचार्यले बताए।

दैनिक एक हजार खसीबोका बध गर्ने क्षमता भएको यस आधुनिक बधशालामा दैनिक २५० देखि ३०० खसीबोका बध भए पनि वार्षिक करिव एक लाख खसीबोकाको आवश्यकता पर्दछ। उक्त बराबरको खसीबोकाको खरिद सुनिश्चितताको लागि ग्रामीण क्षेत्रका केही सहकारी तथा बाख्रा उत्पादकसँग यस कम्पनीले सम्झौता गरिराखेको उनले बताए।

‘खरिद सुनिश्चितता भएपश्चात् किसानहरूले निर्धक्क रूपमा खसीबोका उत्पादन गरि समग्रमा ग्रामीण क्षेत्रमा वार्षिक करिव २ अर्बभन्दा बढीको कारोबार हुने देखिन्छ। यसले ग्रामीण अर्थतन्त्रलाई उकास्न र रोजगारीका अवसरहरू सिर्जना गर्न ठुलो टेवा पुर्याउने छ’, उनले भने।

कसरी गरिन्छ बधशालामा बध ?
बधशालामा खसीबोका बध गर्नुअघि पशु चिकित्सक मार्फत स्वास्थ्य परीक्षण गरि कम्तीमा १२ घण्टा होल्डिङ सेन्टरमा सीमित खानेकुरा र पानी खुवाएर राखिन्छ।

खसीबोकालाई कम तनाब हुने प्रविधिको प्रयोगमार्फत बध गरेपछि अत्याधुनिक उपकरण र तालिम प्राप्त प्राविधिकहरूबाट मासु प्रशोधन पश्चात् अत्याधुनिक प्रयोगशालामा मासु परीक्षण गरी चिस्यान केन्द्रमा राखिन्छ।

यसरी चिस्यान केन्द्रमा राखिएको पूर्ण शरीर चिस्यान सहितको गाडीमा व्यवसायीहरूको माग अनुसार उनीहरूकै पसलसम्म ढुवानी कम्पनीले गर्ने गर्दछ। उक्त प्रशोधन गरिएको पूर्ण शरीरलाई ग्राहकको माग बमोजिम व्यवसायीहरूले टुक्राएर बिक्री वितरण गर्न सक्नेछन्।

मुक्तिनाथ लाइभस्टक बैंकले खसीबोकाको मासुको उपभोगलाई बढाइ मासु व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न चरणमा मासु साक्षरता तथा जनचेतना कार्यक्रम अघि सारिराखेको उनको भनाइ छ।

मासु व्यवसायीहरूको सहमतिमा बधशालाभित्र नै खसीबोकाहरूको मौज्दात राखी जिउँदो खसीबोका खरिद गरी प्रशोधन गर्न सकिने तथा प्रशोधित मासु नै खरिद गर्ने व्यवस्था मिलाइएको छ।

अर्कोतर्फ व्यवसायीहरूले नै खसीबोका ल्याइ प्रशोधन गर्ने भएमा व्यवसायीहरूको स्थानबाट खसीबोका संकलन गरि खसीबोकामा संकेत चिन्ह लगाई कम्तीमा १२ घण्टा होल्डिङ सेन्टरमा राखेपश्चात प्रशोधन गरेर पुनः व्यवसायीहरूको पसलसम्म पुर्याउने व्यवस्था रहेको मुक्तिनाथ कृषि कम्पनीका क्षेत्रीय प्रबन्धक निर्मल भुसालले बताए।

असोज १६, २०८१ बिहीबार १२:००:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।