बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा एक करोड क्षति

बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा एक करोड क्षति

दमौली : बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा एक करोड बढीको क्षति भएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा एक करोड आठ लाख आठ हजार ३७० रुपैयाँ बराबरको क्षति भएको हो।

वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ। देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा  हानी भएको छ।

देवघाट गाउँपालिका-२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। पहिरोबाट बोडी बिउ क्षति हुँदा एक लाख रुपैयाँमा क्षति भएको छ।

बाढीले धानखेतमा क्षति हुँदा दुई लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको केन्द्रले जनाएको छ। आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा ८६ लाख ७० हजार ५७० रुपैयाँ बराबरको क्षति भएको छ।

बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिराले धानमा क्षति हुँदा १५ लाख ९१ हजार ८०० रुपैयाँ बराबरको क्षति भएको छ। ऋषिङ गाउँपालिकास्थित पहिराले कोदोमा क्षति हुँदा ६० हजार र सुन्तलाबोट ढल्दा ९६ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

असोज १६, २०८१ बिहीबार १०:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।