मध्यपूर्वमा जारी तनावका बीच कतार पुगे इरानी राष्ट्रपति, जी७ को आपतकालीन बैठक बस्यो

मध्यपूर्वमा जारी तनावका बीच कतार पुगे इरानी राष्ट्रपति, जी७ को आपतकालीन बैठक बस्यो

एजेन्सी : मध्यपूर्वमा जारी तनावका बीच इरानी राष्ट्रपति मसुद पजाकियान बुधबार कतार पुगेका छन्। कतार अमेरिका र इरान दुवैको सहयोगी राष्ट्र हो।

कतार पुगेपछि इरानी राष्ट्रपतिले अमेरिका र युरोपेली देशहरूले इजरायललाई मध्यपूर्वमा संकट सिर्जना नगर्न मनाउनुपर्ने बताएका छन्।

पाजास्कियनले इजरायलले इरानमाथि आक्रमण गरे त्यसको उचित जवाफ दिने चेतावनी यसअघि नै दिइसकेका छन्।

मध्यपूर्वमा बढ्दो तनावलाई लिएर विकसित देशहरूको जी७ समूहको बुधबार आपतकालीन बैठक बसेको छ।

जी७ वर्तमान अध्यक्ष समेत रहेका इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले बोलाएको बैठकले इरानद्वारा इजरायलमा भएको आक्रमणको निन्दा गर्दै थप प्रतिबन्धबारे समेत छलफल गरेका छन्।

यसैबीच इजरायल एकै पटक लेबनानमा हिजबुल्लाह, गाजामा हमास, यमनको हुथी विद्रोही र इरान गरि चार मोर्चामा लडिरहेको छ।

इजरायली आक्रमणमा बुधबार सिरियामा तीन र गाजामा आठ जनाको मृत्यु भएको थियो।

त्यसैगरी इरानस्थित फ्रान्सेली दूतावासले उडान शुरू हुनेबित्तिकै आफ्ना नागरिकहरूलाई इरान छोड्न भनेको छ। इजरायल र इरानबीच बढ्दो तनावका कारण यो चेतावनी दिइएको हो।

असोज १६, २०८१ बिहीबार ०९:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।