स्थलगत रिपोर्ट : एक सय ५० मिटर सडक पूरै खोलाको कटान, बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप

स्थलगत रिपोर्ट :  एक सय ५० मिटर सडक पूरै खोलाको कटान, बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप
निरन्तरको वर्षासँगै गत शुक्रबार राति धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलामा खसेको पहिरो । यही पहिरोमा पुरिएका तीन वटा सवारीसाधनबाट ३५ जनाले ज्यान गुमाएका छन्।

मलेखु (धादिङ) : बाढीले बगाएर साना तथा मझौला सवारीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बिपी राजमार्ग ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारीको चाप बढेको छ।

बिपी राजमार्गको विकल्पमा त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्डमा सवारीको चाप बढेको हो।

बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोसी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झन्डै ९० प्रतिशत सडक क्षतविक्षत छ।    

चौकीडाँडा भन्ने ठाउँमा करिब एक सय ५० मिटर सडक पूरै खोलाले कटान गरेको छ। बिपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै जिल्ला, मधेस प्रदेशको अधिकांश जिल्ला जाने सवारीसाधनले अहिले पृथ्वीराजमार्ग प्रयोग गरिरहेका छन् ।    

झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका सवारीको चाप त छँदैछ त्यसमाथि बिपी राजमार्गमा चल्ने सवारी पनि थपिँदा पृथ्वीराजमार्ग झन् व्यस्त बनेकाले सम्भावित दुर्घटना हुन नदिन ६० जना प्रहरी थप गरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

साना तथा मझौला सवारीलाई मात्रै चल्ने अनुमति भएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको रोशी खोलाले सडकको नामनिसान नरहने गरी बगाएपछि पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुङ्गा मुग्लिङ सडक प्रयोग गर्न बाध्य भएका हुन्।

सर्लाही, महोत्तरी, धनुषा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, झापालगायत आवतजावत गर्ने सवारीले काठमाडौँको नागढुङ्गा, धादिङको नौबिसे, चितवनको मुग्लिङबाट नारायणगढ र मकवानपुरको हेटौँडा हुँदै महोत्तरीको बर्दिबास पुगेर आआफ्नो गन्तव्यतिर लाग्ने गरेका छन्।
बिपी राजमार्ग सञ्चालनमा हुँदा काठमाडौँबाट पाँच घण्टामा बर्दिबास पुगिने भए पनि नागढुङ्गा मुग्लिङको बाटो प्रयोग गर्नुपर्दा काठमाडौँबाट बर्दिबास पुग्न पूर्व जाने सवारीलाई कम्तीमा १३ घण्टा लाग्ने झापा जाँदै गरेको माइक्रोबसका चालक हरिबहादुर राईले बताए।

‘टाइम कार्ड लागू गराएकै भए पनि बनेपा बर्दिबासको बाटो जान पाउँदा बर्दिबास पुग्न पाँच घण्टा जति लाग्थ्यो। नागढुङ्गाबाट मुग्लिङ निस्किएर बर्दिबास पुग्न जाम भएन भने १३ घण्टा लाग्छ’, चालक राईले भने,‘पृथ्वी राजमार्गमा पनि जताततै पहिरोले गर्दा यसै जाम बढिरहेको छ, जोखिमसहित लामो समय लगाएर यात्रुलाई गन्तव्यमा पुर्याउनुपर्ने बाध्यता छ।’

चार दिनसम्म परेको निरन्तरको वर्षात्ले छियाछिया बनेर जोखिमपूर्ण बनेको सडकमा सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम पनि अझ बढेको छ।

लामो र छोटो दूरीका सवारीसाधनले राजमार्ग भरिभराउ छन्। सामान्यतया दैनिक १३ हजार सवारी आवतजावत हुने पृथ्वीराजमार्गमा दशैँको रौनकले सवारी र यात्रुको चाप बढेको छ नै बिपी राजमार्गमा चल्ने सवारीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा सवारीको चाप अत्याधिक भएको हो।    
सवारी चाप बढेसँगै जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण स्थानमा आलोपालो गरी सवारी पास गराउँदै आएको छ।

सडक विस्तारको निर्माण कार्यका कारण साँघुरो भएको राजमार्गमा ठाउँठाउँमा झरेको पहिरोले झनै समस्या थपेको हुँदा सडकको अवस्था हेरी सम्मतापूर्वक सवारी चलाउन ट्राफिक प्रहरी चालकलाई सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए।

पहिरोसहित विभिन्न कारणले सडक एकतर्फी भएका स्थानलाई सवारी गुड्न सक्ने बनाउने र राजमार्गमा प्रहरीको उपस्थिति बढाएर सम्भावित दुर्घटना हुनबाट सचेत गराउने काम भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए।

‘राजमार्गका केही स्थानमा अहिले पनि सवारी एकतर्फी छ। त्यस्ता स्थानमा जाम हुन नदिन प्रहरी निरन्तर खटिरहेको छ’, शाहीले भने।

- शङ्कर श्रेष्ठ/रासस    

असोज १५, २०८१ बुधबार २१:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।