निर्माण कम्पनीहरूको रकम भुक्तानी दशैं अगाडि नै हुने अर्थमन्त्रीको आश्वासन

निर्माण कम्पनीहरूको रकम भुक्तानी दशैं अगाडि नै हुने अर्थमन्त्रीको आश्वासन

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण कम्पनीहरूको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन्। 

बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरूले पाउनुपर्ने बक्यौता भुक्तानी प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे।

उनले भने, ‘निर्माण व्यवसायीहरूले सम्पन्न गरेको कामको २० अर्ब जति भुक्तानी भएको पनि छ। तर, यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरूले पाउनुपर्ने दायित्व पाइसकेको छैन। तपाईंहरूले भुक्तानी पाउनुहुनेछ। दशैं अगाडि नै हामी प्रयास गर्छौं। संसदले पास गरेको बजेटका लागि चिन्ता गर्नुपर्दैन।’

निर्माण कम्पनीहरूले पाउनुपर्ने रकम धेरै र उक्त शीर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानीमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ। 

'भुक्तानी गर्नुपर्ने रकम धेरै र त्यो शीर्षकमा कम मात्र बजेट भएका कारण समस्या भएको छ। यस्तै समस्याहरूका निम्ति हामीले अरु प्रबन्ध गर्नुपर्नेछ’ उनले भने। 

उनले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताए।

असोज १५, २०८१ बुधबार २१:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।