दशैंका लागि सुर्खेत ल्याइएका भेडाको दाम २० हजारसम्म, च्याङ्ग्राको ४० हजार

दशैंका लागि सुर्खेत ल्याइएका भेडाको दाम २० हजारसम्म, च्याङ्ग्राको ४० हजार

सुर्खेत : दशैं नजिकिँदै गर्दा सुर्खेतमा भेडा र च्याङ्ग्राको व्यापारले तीव्रता पाएको छ। स्थानीय व्यापारीहरूले दशैंको लागि ठूलो संख्यामा भेडा र च्याङ्ग्रा हिमाली भेगबाट सुर्खेत ल्याएका छन्। विशेषगरी मुगु, कालिकोट, हुम्ला र जुम्लाजस्ता हिमाली जिल्लाबाट भेडा-च्याङ्ग्रा सुर्खेतसम्म ल्याउने कार्य जारी छ।

व्यापारीहरूका अनुसार यो वर्ष पनि दशैंको मागलाई ध्यानमा राख्दै झण्डै १० हजारभन्दा बढी भेडा र च्याङ्ग्रा सुर्खेत ल्याइने योजना छ। 

सुर्खेतमा भएका मुख्य बजारहरूमा भेडा-च्याङ्ग्रा बिक्रीका लागि विशेष मेला लाग्ने गरेको छ। भेडा र च्याङ्ग्राको मूल्य यो वर्ष केही बढेको छ। व्यापारीहरूले ढुवानी खर्च, बिचौलियाहरूको प्रभाव र सस्तो खाद्यान्नको अभावलाई मूल्य वृद्धिको मुख्य कारण बताउँदै आएका छन्।

जुम्लाका व्यापारी कृष्ण बुढाका अनुसार भेडा प्रतिगोटा १० हजारदेखि २० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने च्याङ्ग्राको मूल्य २५ हजारदेखि ४० हजार रुपैयाँसम्म पुगेको छ। 

सुर्खेतको बजारमा भेडा-च्याङ्ग्राको माग निकै उच्च हुने भएकाले यो व्यापारले दशैंको समयमा राम्रै आर्थिक लाभ दिने गरेको व्यापारी बुढाले बताए।

'दशैंकाे चहलपहल बढेपछि सुर्खेतमा भेडा च्याङ्ग्राकाे माग  बढेकाे छ,' उनले भने, 'अहिले विभिन्न ठाउँबाट हामी जस्तै व्यापारीले करिब १० हजार भेडा सुर्खेत झारेका छाैं।'

दशैंमा भेडा र च्याङ्ग्राको महत्त्व धार्मिक, सांस्कृतिक र परम्परागत रूपमा महत्वपूर्ण छ। 

विशेषगरी नेपालका हिमाली र पहाडी क्षेत्रमा, दशैंको समय भेडा र च्याङ्ग्राको बलि दिने परम्परा छ। यसलाई हिन्दू धर्मालम्बीहरूले देवी दुर्गाको पूजा र शक्तिको प्रतीक मान्ने गरेका छन्। 

असोज १५, २०८१ बुधबार २०:५०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।