युवायुवतीलाई यातना दिएर आनन्द लिने ‘सुगर ड्याडी’लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

युवायुवतीलाई यातना दिएर आनन्द लिने ‘सुगर ड्याडी’लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनिने आशिष देउलालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा  बूढानीलकण्ठका देउलासँगै अन्य तीन जनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। 

अदालतको आदेशपछि उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडाले जानकारी दिए। 

देउलाका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका-१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका-३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका-२९ का २२ वर्षीय साजन गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सुरूको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। त्यसकै आधारमा मुद्दा दायर भएको थियो। तर, अर्का युवकले तीनै जनालाई विपक्षी बनाएर दिएको जाहेरीपछि पूरक मुद्दा दायर भएको थियो। 

फरक-फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेको भन्दै अदालतले लगाउमा राखेर सुनुवाइ गरेको थियो। 

सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेको आरोप छ। 

क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर देउलाको समूहले बुढानीलकण्ठमा लगेर यातना दिने गरेको प्रहरीको दाबी छ। 

यसअघि प्रहरीले देउलाको घरबाट उनले प्रयोग गर्ने नकाब, यातना दिन प्रयाग भएका आइरन लगायतका सामानहरू बरामद गरेको थियो। 

असोज १५, २०८१ बुधबार १९:२२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।