दीपेन्द्रसिंह ऐरी बने टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी

दीपेन्द्रसिंह ऐरी बने टी-२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी

काठमाडौं : अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० अलराउन्डरतर्फ वरीयतामा ४ स्थानको फड्को मार्दै दोस्रो स्थानमा उक्लिएका छन्।

आईसीसीले आज जारी गरेको नयाँ वरीयतामा दोस्रो स्थानमा उक्लिएका दीपेन्द्र यसअघि उनी छैटौँ वरीयतामा थिए।

नेपाली खेलाडी आइसिसी वरीयताको कुनै पनि क्याटागोरीमा दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो। 

वरीयताको शीर्षमा इङ्ग्ल्याण्डका अलराउन्डर लियाम लिविङस्टोन छन्। लिविङस्टोनको रेटिङ २५३ रहेको छ भने दीपेन्द्र उनीभन्दा ३ अंकले मात्र पछाडि छन्। 

नेपालबाट अलराउन्डरतर्फ गुलशन झाले ११ स्थानको फड्को मार्दै ५३औँ स्थानमा उक्लिएका छन् भने कप्तान रोहित पौडेल पूर्ववत् स्थानमै छन्।

कुशल भुर्तेल पनि ६ स्थान उक्लिएर ६०औँ स्थानमा र कुशल मल्ल ४०औँ स्थानमा रहेका छन्। 

ब्याटिङतर्फ दीपेन्द्र २ स्थान माथि उक्लिएर ४३औँ स्थानमा पुगेका छन्।

ब्याटिङतर्फ कप्तान रोहित भने एक स्थान तल झरेर ६१औँ र आसिफ शेख २ स्थान तल झरेर ७०औँ स्थानमा छन्। एक स्थान सुधार गरेका कुशल मल्ल एक सयौं स्थानमा छन्। 

बलिङतर्फ दीपेन्द्रले २३ स्थानको ठूलै फड्को मारेर ७०औँ स्थानमा उक्लिएका छ। सोमपाल कामी भने एक स्थान झरेर ९१औँ स्थानमा छन्। 

टी-२० वरीयतामा नेपाल १७औँ स्थानमा यथावतै छ। 

असोज १५, २०८१ बुधबार १८:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।