वैदेशिक रोजगारमा ग्रिस पठाउने भन्दै लाखौं रूपैयाँ ठगेको आरोपमा तीनजना पक्राउ

वैदेशिक रोजगारमा ग्रिस पठाउने भन्दै लाखौं रूपैयाँ ठगेको आरोपमा तीनजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ गच्छे टोल घर भई काठमाडौंको टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोटको तादी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मीको मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए। 

पक्राउमध्ये सुदनले एकजना पीडितबाट पाँच लाख रूपैयाँ, अन्जनाले एकजना पीडितबाट दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट एक लाख पाँच हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो।

सुदनलाई पुतली सडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। 

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी आचार्यले बताए।  

असोज १५, २०८१ बुधबार १६:३४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।