‘बाढीबाट बाँचियो, अब के खाएर बाँच्ने? दशैंको मुखमा सुकुम्बासी हुनुपर्यो’
काठमाडौं : हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउँछिन्। रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ।
सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन्। कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ।
आफन्तको छाप्रोमा आश्रय पाउका सिजालीको परिवार चुक्कल बिनाको छाप्रोको भुइँमा रात बिताउन बाध्य छन्।
'मान्छे र कुकुरमा केही फरक छैन। बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ। कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ, सिजालीले भनिन्।
शुक्रबार आएको बाढीले ललितपुरस्थित नख्खु खोला किनारमा रहेको छाप्रो बगाएपछि सिजालीको परिवार विस्थापित बनेको छ। सिन्धुली स्थायी घर भएर काठमाडौंमा मजदुरी गर्ने उनको परिवारलाई अहिले न घर जाने अवस्था छ, न यहाँ सुरक्षित बस्ने व्यवस्था नै।
बाढीले सबै बगाएर लगेपछि उनीहरुको शरीरमा एक सरो लुगा बाहेक आफ्नो भन्ने केही छैन। आफन्तको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताइन्।
खोलाले सुरूको दिन आँगन भिजाएको थियो। केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उनीहरू राति मस्त निद्रामा परिन्। निदाएका बेला अचानक आएको बाढीले बस्ती बगाएको सिजालीले बताइन्।
'खासै पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ। खोलाले अचानक झुक्याएर आयो। सबै बगाएर लग्यो, उनले भनिन्।
ललितपुरस्थित फूलबारी मार्ग-२५ मा बस्ने नरबहादुर सिजाले मगरको छ जनाको परिवार अलपत्र परेको छ।
'कहाँ बस्ने? के खाने?, उनले प्रश्न गरे, दिनभरि उज्यालोमा डर लाग्दैन। रात परेपछि खोलामा फेरि बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ। रातभरि निद्रै लाग्दैन।'
नख्खुखोला किनारामा छाप्रो बनाएर बस्दै आएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमासमेत छैन।
नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ।
'वडाले खाना खुवाउँछ तर, कहाँ रात बताउँछौ भनेर सोध्दैन। फेरि पानी पर्यो भने ओत लाग्ने थलो छैन, उनले भने।
माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ।
आफन्ती कहाँ आश्रय लिएर रात कटाउँदै आएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताए।
'सरोकार भएका निकायले आश्वासन मात्र नदिएर तत्काल हामी जस्ता पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ। यही अवस्था रहिरहे हाम्रो स्वास्थ्यमा पनि समस्या आउन थाल्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता छ, उनले भने।
ललितपुरस्थित आदिनाथ मार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताए।
बाढीले घर डुबानमा परेपछि आमासँगै उनलाई हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो। आफूहरू सुरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएका भन्दै उनले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताए।
'बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन। हिलोले सबै डुबेको छ। राति ग्यास चोरी भएछ, दासले भने।
बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेका बताउँदै उनले सरोकार भएका निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउँदै थिइन्। घर र सात वटा गाईसहितको गोठ बगर बनेपछि उनको पेट पाल्ने आधार खोसिएको छ।
'डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरी कुरेर बसेँ, केही हाता लागेन। सातमध्ये चारवटा गाई मृत भेटिएका छन्, उनले भने।
सरस्वतीको परिवारले दुई वर्ष अघि गाईपालन व्यवसाय सुरू गरेको थियो। १४ लाख रूपैयाँ ऋण लिएर गाईपालन थालेको भन्दै उनले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएका बताइन्।
'बिमा गरेको १३ दिन मात्र भएको थियो। स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरू गरेका थियौँ। सबै सपना र १४ लाखको लगानी बेला बाढीले बगाएको छ, सरस्वतीले भनिन्।
अब ऋण तिर्नका लागि मुग्लान पस्नुपर्ने भन्दै उनले थपिन्, 'दुई चार रूपैँया कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो। अब केही रहेन। ऋण तिर्न विदेशीनु बाहेक अरू विकल्प पनि छैन।'
नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दै थिइन्। पाँच तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आसले खोजी गरेको धामीले बताइन्।
जीवनभरको कमाइ माटोमा बिलिन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उनले गुनासो पोखिन्।
'बाढीबाट बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने? दशैंको मुखमा सुकुम्बासी हुनुपर्यो, उनले भनिन्। (मधु शाही/रासस)
असोज १६, २०८१ बुधबार १६:१४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।