'आँखा' : सुकुम्वासीको जीवनमाथि लगाइएको प्रेमको लेन्स
काठमाडौँ बागमती किनारामा रहेको सुकुम्वासी बस्ती राजनीतिक तहमा निकै बहस भइरहेको विषय हो। स्थानीयदेखि केन्द्रीय सरकारसम्म यो बहसको केन्द्रमा छन्। अहिले बाढीले अस्तित्व नै मेटेको यस्तै बस्तीको जीवनलाई केन्द्रमा राखेर जोन योञ्जनको निर्देशनमा बनेको फिल्म 'आँखा' गत शुक्रवारबाट रिलिज भयो।
निर्देशकले राजनीतिको साटो प्रेमको लेन्सले सुकुम्वासी बस्तीको समस्यालाई पर्दामा उतारेका छन्। सुकुम्वासी बस्तीमा बस्नेहरूको मन खोतल्ने प्रयास गरेका छन् उनले।
फिल्मले समाजका विभिन्न वर्गबीचको अन्तरक्रिया र सुकुम्वासी जीवनको कठोर यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् जसले अहिले जारी बहसमा दर्शकहरूलाई सुकुम्वासीको जीवनबारे सोच्न बाध्य पार्ने प्रयास गरेका छन्।
'आँखा' को सबैभन्दा बलियो पक्ष यसको कथा र पात्रको चित्रण हो। फोहोर सङ्कलक आरके मेहता र उनकी प्रेमिका सरिता क्षेत्रीको प्रेम कथा मार्फत, फिल्मले सुकुम्वासी बस्तीका बासिन्दाहरूको दैनिक सङ्घर्ष, आकाङ्क्षा र चुनौतीहरूलाई प्रस्तुत गरेका छन्। सुकुम्वासी बस्तीबाट सामान्य बस्तीमा बस्न गरिने सङ्घर्ष नै यसको मूल कथा हो।
सुविधासम्पन्न डेराको आशमा विवाह गरेर प्रेमिको पछि लागेकी सरिता क्षेत्री (स्मीता लामिछाने) बसपार्कबाट सिधै सुकुम्वासी बस्तीमा पुग्छिन्।
चुहिने छानो, तारले अल्झाउने ढोका अनि ढोका अगाडि बढ्ने बागमतीको गन्धमा उनका प्रेमी अभ्यस्त भइसके पनि यी सबै उनका लागि नयाँ हुन्।
अलि गतिलै डेरामा बस्न चाहने प्रेमिकाको रहर अनि फोहोर सङ्कलनबाट बल्लबल्ल जोडिने आर्थिक स्रोतले सुकुम्वासी बस्तीमै बस्नुपर्ने बाध्यताकाबीच पात्रहरू निर्माण गरेर सुकुम्वासीको समस्या पस्कने प्रयास गरेका छन् निर्देशकले।
सुकुम्वासी बस्तीको बसाई बाध्यता नभई रहर अनि सरकारकी सम्पत्ति हडप्ने प्रपञ्चको रूपमा बुझ्ने शहरबासीको सङ्ख्या बाक्लो छ। त्यसमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह समेत जोडिएका छन्।
निर्देशकले बुद्धि तामाङ (हैट), बस्तीकै दिदी (पशुपति राई), सरसफाइका लिडर राजन खतिवडा, बौलाहा (विजय बराल) पात्रमार्फत सुकुम्वासी बस्तीमा बस्नु शहरी गरिबको रहर हो या सामाजिक संरचनाले निर्माण गरेको बाध्यता भन्ने यथार्थ देखाउने प्रयास गरेका छन्।
फिल्मको बलियो पक्ष यसको कथा र पात्रको चरित्र चित्रण नै हो। उनले सम्बन्धमार्फत बस्तीको अवस्था देखाउने प्रयास गरेका छन्। कोरा राजनीतिक संवाद बोलाएका छैनन् पात्रलाई। प्रेमको लेन्सबाट राजनीतिक चक्र देखाउने प्रयास गरेका छन्।
बौलाहाको भूमिकामा विजय बरालको अभिनय आहा लायक छ। उनी फिल्म अवधिभर काहीँ न काहीँ, कुनै न कुनै पात्रसँग ठोकिरहन्छन्। तर उनको संवाद भने एक पटक मात्रै सुनिन्छ। फाटेको प्लास्टिकको कुर्सी बोकेर हिँड्नु र खोलामा पसेर चुरोट खाँदै बेला बेलामा चिच्चाउदा दर्शकलाई खोलामै छु भन्ने आभास दिलाउन सकेका छन् उनले।
आरके मेहताको अभिनय पनि अब्बल छ। आफ्नो क्षमता भन्दा माथिल्लो कुरा खोज्न सकिँदैन भन्ने पात्रमा उनले राम्रो अभिनय गरेका छन्। द्वन्द्वकालीन समयमा आफन्तबाट टाढिएका बुद्धि तामाङको अभिनय पात्र अनुसार मध्यम छ। सुकुम्वासी बस्तीको घरबेटी बनेका प्रवीण खतिवडा र फोहोर मैला हेर्ने लिडरको भूमिका निवार्ह गरेका राजन खतिवडाको अभिनय बुझाउँदैन।
श्रीमानको अधीनमा बस्न नचाहेर चरा जस्तै उड्न खोजेकी पशुपति राईले आफ्नो भूमिका गज्जबले निभाएकी छन्। कवाडीको साहु बनेका रवीन्द्र झाको अभिनयले दर्शकको मन छुन्छ।
फिल्मको कथामा मेहनत देखिन्छ तर त्यसको तुलनामा पटकथा र संवाद सुस्त देखिन्छ। दोस्रो हाफको तुलनामा पहिलो हाफलाई अगाडि बढाउन निर्देशक चुकेका छन्। पहिलो हाफमा छरिएका पात्रलाई दोस्रो हाफमा समेट्न निर्देशकलाई निकै समस्या परेको देखिन्छ। फिल्मको खिचाइदेखि फिल्मको कलरिङ अनि ब्याकग्राउन्ड म्युजिकमा समेत निर्देशकले मिहेनत गरेको देखिन्छ।
सामाजिक विषयवस्तुमा आधारित फिल्मले समाजका विभिन्न पक्षहरूलाई उजागर गर्दै दर्शकहरूलाई सोच्न र बहस गर्न प्रेरित गर्न सक्नुपर्छ। एकतहसम्म 'आँखा' ले प्रयास पनि गरेको छ। तर शहरी गरिबको कथा पस्कँदा उनी वैचारिक पक्षमा भने कमजोर देखिन्छन्।
निर्देशकले सुकुम्वासी बस्तीमै फिल्म खिचेर यथार्थपरक चित्रणको प्रयास गरेका छन्। तर लोकेसनले मात्रै यथार्थ पस्कन सम्भव हुन्न। त्यसमा पात्रको अवस्थामार्फत बिचारको समेत निर्माण गर्न आवश्यक छ।
फिल्मका पात्रहरू बहुआयामिक र विकासशील भएमा दर्शकहरूलाई उनीहरूसँग जोडिन मद्दत गर्छ। यसमा निर्देशक बलियो छन्।
'आँखा' मा आरके र सरिताको पात्र विकासमा मिहेनत देखिन्छ। आरकेको आफ्नो जीवनप्रतिको सन्तुष्टि र सरिताको नयाँ वातावरणमा समायोजन हुने सङ्घर्षले उनीहरूको चरित्रलाई जीवन्त बनाउने प्रयास भएको देखिन्छ। साथै, बौलाहा जस्ता सहायक पात्रहरूले कथालाई थप गहिराइ दिने प्रयास भएको छ।
सामाजिक मुद्दाहरूलाई एकतर्फी रूपमा नभई, विभिन्न दृष्टिकोणबाट हेर्नुपर्छ। 'आँखा' मा सुकुम्वासी बस्तीको जीवनलाई विभिन्न कोणबाट हेर्ने प्रयास त गरेको छ तर अलि छिपछिपे छ दृष्टिकोण।दर्शकलाई पात्रमार्फत सुकुम्वासी बस्तीमा प्रवेश गराएका निर्देशकले विभिन्न पात्रमार्फत दर्शकलाई फिल्मको कथासँगै हिँडाउन भने चुकेका छन्। विशेष गरी पहिलो हाफमा कथाको धागो फुत्कँदा दर्शक पनि फुत्किन्छन्। कथा बरालिँदा दर्शक पनि बरालिन्छन्।
तर,
सामाजिक असमानता, गरिबी, मानवीय मर्यादा, र वर्गीय भेदभाव जस्ता विषयहरूलाई सम्बोधन गर्दै दर्शकको मन हुँडल्न निर्देशक सफल भएका छन्। दर्शकमाझ अहो हामीले सोचेको सुकुम्वासी बस्तीको जीवन त फरक रहेछ भन्ने तहको सोच निर्माण गर्न सकेका छन् उनले।
असोज १६, २०८१ बुधबार १६:११:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।