पाँच हजारमा टुकुचा नजिकै जग्गा किनेका ‘खकुरेल बा’ भन्छन्- ‘खोला भेट्नेहरूले त्यतिबेला छोपेर घर बनाए’

पाँच हजारमा टुकुचा नजिकै जग्गा किनेका ‘खकुरेल बा’ भन्छन्- ‘खोला भेट्नेहरूले त्यतिबेला छोपेर घर बनाए’
तस्बिर- कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : लगभग दुई महिना हुन लाग्दासम्म पनि टुकुचाले भासिएको सडक नबन्दा स्थानीयहरू मारमा परेका छन्। सडक डिभिजनले ‘प्रक्रियागत रूपमा काम अगाडि बढाउनुपर्ने’ भन्दै ढिला गर्दा यसबाटोको आसपास हिँड्नेलाई समेत समस्या भइरहेको छ। यस वरपरको अधिकांश पसल त बन्द नै भइसक्यो।

व्यावसायिक क्षेत्र भएका कारण प्राय घरमा घरबेटी भेट्नै गाह्रो। बल्ल-बल्ल भेटिए एक स्थानीय ८३ वर्षीय रमेश खकुरेल। २०१३ सालदेखि उनी कमलादीमा बस्दै आइरहेका छन्। यो बाटो नबन्दा अहिले आफूलाई बिहान-बेलुका हिँडडुलमै समस्या भएको छ उनलाई। उनका अनुसार बीचमा पनि यो सडक कहिलेकहीँ भासिएको भए पनि यसरि ठूलो भ्वाङ्ग परेर सडक नै बन्द गर्नुपर्ने अवस्था भने थिएन।

‘२०१४ सालमा पनि यो सडक यसरी नै भासिएको थियो। त्यो बेला त गुह्यश्वरीमा हुने जात्राको लागि यो बाटो प्रयोग गरेर तुरुन्तै बनाइएको जस्तो लाग्छ,’ विगत सम्झँदै उनी भन्छन्, ‘त्यसपछि बर्खाको समयमा फाट्टफुट्ट भत्किने गर्थ्यो। त्यो टाल्न काम पनि छिट्टै बन्ने गर्थ्यो। तर यसरी हाम्रो ढोका नै बन्द गर्नु परेर सडक भ्वाङ्ग परेको चैँ ६६ वर्षपछि हो।’

अहिले भासिएको ठाउँबाट दोश्रो पहेँलो घरमा कुरा गर्दै उनको बा’ले यो घर पाँच हजारमा किनेको समेत बताए। एउटै टोल भए पनि टुकुचाले उनको घरलाई भने भेट्दैन। त्यै पनि यहाँ बस्ती बस्नुभन्दा अगाडिदेखि बसेको भएर टुकुचा र यस क्षेत्रमा उनी चासो राख्छन्।

‘राणाहरूले बेच्न थालेपछि पैसा हुनेले धमाधम जग्गा किन्न थाले’
‘त्यो बेलामा यस्तो ठाउँ बन्छ भनेर कसलाई थाहा थियो र! राणाहरूले जग्गा बेचेको बेला पैसावालहरूले यहाँ धमाधम जग्गा किन्यो, घर बनायो,’ उनी भन्छन्, ‘अब त्यही बेलामा जग्गा किनबेच गर्न मिल्दैन भनेको भए त यति बाक्लो बस्ती पनि बन्ने थिएन होला। अब अहिले आएर घर बनाउनेहरूलाई दोषी देखाउनु त भएन नि!’

वडा नं.१ स्थित सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको भवनदेखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रमा निर्मित मापदण्ड विपरीतका संरचना हटाउन भन्दै काठमाडौं महानगरपालिकाले २०७९ साउन १२ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो। सो क्षेत्रमा पूर्ण रूपमा टुकुचा  छोपिएको भन्दै जय नेपाल हल रहेको भवनको कम्पाउण्डमा गरेको उत्खननलाई महानगरले पहिलो चरणको ‘सफलता’ समेत भनेर दाबी गरेको थियो।

टुकुचाको बहाव क्षेत्र ४ मिटर तथा त्यसको दायाँबायाँको ४/४ मिटर गरी १२ मिटर चौडाइको क्षेत्र सरकारी जग्गा भएको भन्दै खोला छोप्ने, मिच्ने, त्यसको बहाव परिवर्तन गराउने कार्यहरू महानगरले गैरकानूनी मानेको छ। साहित्यकार समेत रहेका स्थानीय खकुरेलका अनुसार यहाँको जग्गा पहिले लालदरबार, वीर शमशेरको थियो। उनका सन्ततिले जग्गा बेचेपछि घरहरू बन्न थालेका हुन्।

‘यहाँ पनि नारायणहिटी दरबार संग्रहालयको जस्तै ठूल्ठूला रुखहरू थिए। अझ यहाँ त त्यो भन्दा ठूलो, सल्लाको रुखहरू पनि थियो,’ पुरानो कुरा सम्झिँदै उनी भन्छन्, ‘पहिला यहाँ हाम्रोघर बन्नुभन्दा पल्लो पट्टि पाटी थियो। त्यहाँ खसी बेचिन्थ्यो। ठाउँको नाम नै खसीपाला। अनि बटुवाहरू त्यहीँ आराम गरेर बस्थे। त्यसबाहेक जम्मा एउटा ऋषिकेश शाहको घर थियो। उसलाई पनि तल टुकुचा छ भनेर थाहै छैन। पैसा हुनेहरूले धमाधम किन्न थाले यहाँको जग्गा। अनि घर बनाउन थाले। खन्दा खोला भेटियो भने त्यसलाई पुर्दै पनि बनाए।’

उनको बा'ले पनि त्यहि समयतिर यहाँको दुई रोपनी जग्गा किनेको रे। उनी बसेको घर भने इन्द्र शमशेरकी श्रीमतीले बाहुनलाई दानमा दिएकी रहिछन्। उनका अनुसार पछि त्यो बाहुनलाई कोट लगाउन मन लागेको भएर यो जग्गा बेच्ने सुर कसे।

‘धरहराको घर बेच्न परेपछि हामी डेरामा बसिरहेका थियौँ। कृष्ण पाउरोटीले तीन हजार दिन चाहेकोमा हाम्रो बा'ले पाँच हजार दिने भनेपछि उसले खुसी भएर दिएछ,’ उनले भने, ‘त्यसदेखि हामी यहीँ छौँ। चालिस सालमा बाटोले काटेर हाम्रो जग्गा एक रोपनी एक आना मात्र बाँकी भयो। अनि हामी पाँच जना दाजुभाइमा यो विभाजित भएर अहिले मेरो भागमा जम्मा चार आना छ। भाइहरूले त बेचिसके।’

लालदरबारको घेराभित्र टुकुचा !
नारायणहिटी दरबार क्षेत्रदेखि जय नेपाल हल अनि कृष्ण पाउरोटी हुँदै घण्टाघरबाट उत्तर तीनधारा पाकशाला सम्मको जग्गा लालदरबार अन्तर्गत थियो। त्यहाँका मस्जिदहरू भने अगाडि नै बनिसकेको हो। त्यस्तै याक एण्ड यति होटल र होटल अन्नपूर्ण र त्यो सेतो दरबार र कान्तिपथ पुग्थ्यो। अनि नारायणहिटीको बीचमा पर्खाल आएपछि छुट्टिदै फेरि जय नेपालसम्म आइपुग्थ्यो। यो जग्गाभित्र भने टुकुचा निरन्तर बगिरहेको खकुरेलको भनाइ छ।

नारायणहिटी भित्रैबाट बगेर आउने टुकुचा वीरशमसेरको पालासम्म आइपुग्दा ठूलो-अग्लो पर्खालले घेरियो। अनि त्यसमुनि फलामको डण्डी राखेर, गुम्बज आकारको ‘कभर’ बनाइयो।

‘त्यो आकार त अझै पनि देख्न सकिन्छ। त्यो गुम्बजबाट जस्तै बर्खा आओस् पानी सबै पास भइराखेकै थियो। त्यो आखिर त माटोकै जोडाइ त हो। पानीको छल्को धान्न नसकेर इँटाको बीचबाट पानी छिर्यो। अनि माटो पगाल्यो पछि सडक भासियो नि! भासिएको ठाउँबाट पनि त्यो गुम्बज कभर केही हदसम्म देख्न सकिन्छ’, उनी भन्छन्।

पुरातत्व विभागले टुकुचाबारे निकालेको एक प्रतिवेदन अनुसार अहिले भासिएको ठाउँलाई गुम्बजको अन्तिम बिन्दु भनेको छ। जसमा भूमिगत ‘श्री ३ वीर’ र ‘सर का र’ लेखिएको इँटा देखिएको थियो। गुह्यश्वरीमा वर्षको एक दिन हुने जात्रामा यहीँबाट जात्रा निकाल्न पर्ने बाहेक यो सडक लालदरबार अन्तर्गत पर्ने भएकाले खासै चहलपहल हुँदैनथ्यो।

‘यहाँको माटो एकदम मलिलो छ भन्छ। अहिले यस्तो व्यावसायिक ठाउँ भयो। गाडी कुद्यो अनि त्यो टुकुचामाथिको कमजोर संरचनाले कसरी धानोस् त ! पानी परेको पर्यै छ। अब तिहारपछि मात्र बनाउँछ कि यो सडक!’, उनी गम्भीर सुनिए। उनका अनुसार टुकुचा बाङ्गो गरेर बगेको हुँदा कसको घर मुनि छ भनेर हेर्नको लागि लालदरबार क्षेत्र सबै खोतल्नुपर्छ।

‘नक्सामा टुकुचा नभए पनि घरहरू त छ’
टुकुचा बागमतीको सहायक नदी हो, काठमाडौंको रुद्रमती र बिष्णुमतीकाबीच भागमा घनाबस्तीका बीच बग्ने यसको संस्कृतिक नाम इच्छुमति हो। यो चुनदेवी टुँडालदेवी मन्दिर हुँदै चिनियाँ दुतावास, निलसरस्वती, नारायणहिटी दरबार, जयनेपाल सिनेमा घर, तीनधारा मार्ग, बागबजार हुँदै कालमोचन घाटमा पुगेर बागमती नदीमा मिसिन्छ।

बागमतीको सहायक इच्छुमतिको लम्बाइ छ किलोमिटर रहेको छ। जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्म १३० वर्ष अगाडि नै गुम्बज कभर बनाइएको भनेर पुरातत्वको प्रतिवेदनले स्पष्ट पारेको छ। २०३२ सालमा नापनक्सा हुनुभन्दा अगाडिदेखि नै टुकुचा भूमिगत भइसकेको देखिन्छ। त्यै भएर पनि त्यसबखत कित्ता नापी हुने समयमा टुकुचा नक्सामा नक्साङ्कन नभएको हुन नसकेको सरकारी प्रतिवेदनले नै भन्छ।

यहाँका वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार पछिल्लो समय टुकुचालाई लिएर महानगरको विवादले तीस घर प्रत्यक्ष मारमा छन्। यस्तो अवस्थामा अब स्थानीय, टुकुचा, महानगर र पुरातत्व सबैले समन्वय गरेर आगामी कदम चाल्न पर्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘नापीमा टुकुचा छैन। तर, त्यहाँको सम्पूर्ण घर त छ। हाम्रो वडावासीहरूले सबै कर पनि तिरिरहनुभएको छ। यस्तो अवस्थामा वर्षौंदेखिको बासिन्दा पनि मारमा पर्नु भएन।’

असोज १६, २०८१ बुधबार १३:४२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।