भारतको पुणेमा उडान भरेको १० मिनेटमै हेलिकप्टर दुर्घटना, सवार तीनै जनाको मृत्यु

भारतको पुणेमा उडान भरेको १० मिनेटमै हेलिकप्टर दुर्घटना, सवार तीनै जनाको मृत्यु

एजेन्सी : भारत महाराष्ट्रको पुणेमा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई पाइलट र एक इन्जिनियर रहेका छन्। पुणे जिल्लाको बावधनको केके कन्स्ट्रक्सन हिल नजिकै बिहान साढे ६ देखि ७ बजेतिर घटना भएको हो।

प्रहरीका अनुसार हेलिकप्टर अक्सफोर्ड गल्फ कोर्सको हेलिप्याडबाट उडेको थियो। टेक अफ भएको करिब १० मिनेटपछि हेलिकप्टर १.५ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो।

पहाडी क्षेत्रमा रहेको उक्त स्थानमा विहानैदेखि बाक्लो कुहिरो थियो। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेको थियो। हेलिकप्टर सरकारी हो कि निजी भन्ने खुल्न सकेको छैन।

मृतकको पनि सनाखत हुन सकेको छैन। घटनास्थलमा पिम्प्री चिंचवड प्रहरी, दमकल र मेडिकल टोली पुगेको छ।

४० दिनभित्र पुणेमा हेलिकप्टर दुर्घटनाको यो दोस्रो घटना हो। यसअघि गत अगस्ट २४ मा पुणेको पौड क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो।

मुम्बईबाट हैदरावाद जाँदै गरेको हेलिकप्टरमा एक पाइलट र तीन यात्रु थिए। दुर्घटनामा पाइलट घाइते भए पनि बाँकी तीन जनालाई भने गम्भीर चोट लागेको छैन।

असोज १५, २०८१ बुधबार १०:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।