विजय चालिसेको वैदिक उपन्यास युगसन्धि विमोचन

विजय चालिसेको वैदिक उपन्यास युगसन्धि विमोचन

काठमाडौँ : ऋषि वशिष्ठ र विश्वमित्रबीचको वैदिक कालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धि बजारमा आएको छ।

विजय चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाती तथा संस्कृति, महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबिचको द्वन्द्व समेटिएको छ।
यी प्रसङ्गहरूमा विश्वामित्र ऋषि र वशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ। उपन्यासमा ब्रह्म शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ।

पुस्तक लोकार्पण समारोहमा बोल्दै समीक्षक गोपी मैनालीले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रीय विधान तोडेको उल्लेख गर्दै यो उपन्यास विजयको मात्र नभई पराजयको पनि कथा भएको बताए। उनले युगसन्धिले प्राचीन समयको जातीय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गरे।

यसैगरी समीक्षक डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यासले उठान गरेको विषयवस्तु भन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गरे। वैदिक कालको कथालाई लैङ्गिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उनको भनाइ थियो।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गरेका डा ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाएको बताए।

लेखक चालिसेले वैदिक कालका द्वन्द्वहरूलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताए।

परिचय पब्लिकेसनद्वारा प्रकाशित पुस्तकको मूल्य ५ सय ५० रहेको छ ।

असोज १५, २०८१ बुधबार ०९:१३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।