इरानद्वारा रातभर इजरायलमा १८० मिसाइल प्रहार, नेतान्याहु र बाइडेनले के भने?

इरानद्वारा रातभर इजरायलमा १८० मिसाइल प्रहार, नेतान्याहु र बाइडेनले के भने?

काठमाडौं : इरानले इजरायलमा मिसाइल आक्रमण गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा एक विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ।

विज्ञप्तिमा इजरायलतर्फ दर्जनौं मिसाइल प्रहार गरिएको बताइएको छ। इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने उसको चेतावनी छ।

निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्युका साथै लेबनान र प्यालेस्टाइनका जनताको मृत्युको प्रतिक्रियास्वरूप यी आक्रमणहरू गरिएको बताएको छ।

यस विज्ञप्तिमा इजरायलका महत्त्वपूर्ण लक्ष्यहरूलाई निशाना बनाइएको उल्लेख गरिएको छ।

आक्रमणलगत्तै इजरायलभर साइरन बजेको थियो। इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमाण्डको निर्देशनहरू पालना गर्न आग्रह गरेको थियो।

साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा सर्ने र अर्को सूचना नआएसम्म त्यहीँ बस्न भनिएको थियो। यसअघि तेल अभिभमा गोली चलेको आवाज सुनिएको थियो। प्रहरी प्रवक्ताका अनुसार यस घटनामा धेरै मानिसहरु घाइते भएका छन्।

यसअघि अमेरिकाले इरानबाट आक्रमण हुन सक्ने बताएको थियो। यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध जमिन आक्रमण गरिरहेको छ।

इरानको चेतावनी
इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आक्रमणको बचाउ गरेका छन् र इजरायली प्रधानमन्त्री नेतन्याहुलाई पनि चेतावनी दिएका छन्।

पेजेस्कियानले इरानले ‘इरान र यस क्षेत्रको शान्ति र सुरक्षा’लाई ध्यानमा राख्दै ‘निर्णायक’ प्रतिक्रिया दिएको बताएका छन्। उनले याे इरानका हित र नागरिकहरूको सुरक्षाको लागि भएको समेत तर्क गरे।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुप्रति टिप्पणी गर्दै उनले इरान युद्धको पक्षमा नभए पनि कुनै पनि खतराको विरुद्धमा दृढतापूर्वक उभिने स्पष्ट सन्देश दिए।

इजरायललाई चेतावनी दिँदै उनले एक्समा लेखेका छन्- ‘आजको आक्रमण इरानको क्षमताको झलक हाे। इरानसँगको द्वन्द्वमा नपर्नू नै बेस।’

आज राति नै आक्रमण हुन्छ : इजरायली सेना
इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली वायुसेनाले आज राति ‘मध्यपूर्वमा बलपूर्वक प्रहार गर्ने’ बताएका छन्।

आक्रमणका सम्बन्धमा उनले इजरायल र अमेरिकाको वायु रक्षा प्रणालीले इरानले प्रहार गरेको मिसाइललाई प्रभावकारी रूपमा रोकेको बताए।

उनले थप भने, ‘इरानले आज राति गम्भीर कदम चालेको छ र मध्य पूर्वलाई द्वन्द्वतर्फ धकेलिरहेको छ।’

यसका साथै इजरायली सेनाले इरानबाट इजरायलतर्फ करिब १८० मिसाइल प्रहार गरेको बताएको छ।

एक इजरायली सुरक्षा अधिकारीका अनुसार यी मध्ये अधिकांश मिसाइलहरू इजरायली वायुसेनाले अमेरिकी वायुसेनाको केन्द्रीय कमाण्डको सहयोगमा खसालेका थिए।

बाेले इजरायली प्रधानमन्त्री
इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानले ठूलो गल्ती गरेको भन्दै यसको मूल्य चुकाउनुपर्ने बताएका छन्।

इजरायली मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले इजरायल आफ्ना शत्रुहरूविरुद्ध बदला लिन कटिबद्ध रहेको इरानले नबुझेको बताए।

‘अब उनीहरूले यो बुझ्नेछन्,’ उनले भने, ‘हामी आफूले बनाएका नियमहरूमा अडिग छौँ। जसले हामीलाई आक्रमण गर्छ, हामी आक्रमण गर्नेछौँ।’

अमेरिकाले के भन्यो?
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानी आक्रमणबाट जोगाउन र इजरायलतर्फ प्रहार गरिएका मिसाइलहरू खसाल्न इजरायललाई सहयोग गर्न अमेरिकी सेनालाई निर्देशन दिएका थिए।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इरानले गरेको आक्रमणको निगरानी गरिरहेका थिए।

पछिल्लो जानकारीको आधारमा बाइडेनले आक्रमण ‘असफल’ साबित भएको बताएका छन्।

यसैबीच अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले इरानी मिसाइल खसाल्न अमेरिकाले इजरायललाई जसरी सहयोग गरेको छ त्यो एकदम सही भएको बताएकी छन्।

कमला ह्यारिसले ह्वाइट हाउसको सिचुएसन रुमबाट वास्तविक समयमा यो हमला देखेको बताइन्। उनले इरानलाई मध्यपूर्वमा ‘अस्थिर शक्ति’को रूपमा वर्णन गरेकी छन्।

भूमध्यसागरमा तैनाथ अमेरिकी नौसेना जहाजहरूलाई इरानको क्षेप्यास्त्र खसाल्नका लागि राष्ट्रपति बाइडेनले दिएको निर्णयलाई पूर्ण समर्थन गर्ने उनले बताइन्।

कमला ह्यारिसले आक्रमणको प्रभावको मूल्याङ्कन अझै जारी रहेको र अमेरिकाको सहयोगमा इजरायलले आक्रमण असफल भएको बताएकी छन्। 

उनले थप भनिन्, ‘म इजरायलको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध छु।’

असोज १५, २०८१ बुधबार ०८:०८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।