कोशीमा विहानैदेखि वर्षा, अपरान्हपछि काठमाडौंमा पनि पानी पर्ने

कोशीमा विहानैदेखि वर्षा, अपरान्हपछि काठमाडौंमा पनि पानी पर्ने

काठमाडौं : हाल देशभर भारतको उत्तर-पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। जसले गर्दा विहानैदेखि कोशी प्रदेशका केही स्थानमा हक्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश अन्तर्गत मोरङको केराबारी स्टेसनमा भारी वर्षा भएको छ। महाशाखाले सो क्षेत्र भएर बहने साना नदीहरुमा बहाव बढ्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले बुधबार र बिहीबार मुलुकका विभिन्न स्थानमा वर्षा भए पनि अविरल वर्षाको सम्भावना नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ।

आज दिउँसो तथा अपरान्हपछि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र बागमती प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ।

आज राति कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

असोज १६, २०८१ बुधबार ०७:०९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।