ओलीले स्विकारे पूर्व तयारीको कमजोरी, गृहमन्त्रीको बचाउ, विपद्मा सम्मान थाप्दै हिँड्ने मुख्यसचिवबारे मौन

ओलीले स्विकारे पूर्व तयारीको कमजोरी, गृहमन्त्रीको बचाउ, विपद्मा सम्मान थाप्दै हिँड्ने मुख्यसचिवबारे मौन

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिएर नेपाल फर्किए लगत्तै मौसमबारे रेड अलर्ट जारी भए पनि कहाँ बाढी र पहिरो जान्छ भन्ने नभनेको अभिव्यक्तिपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना बढ्यो।

विपद्को बेलामा तत्काल स्वदेश नफर्किई अमेरिकामा झिना मसिना कार्यक्रममा अल्झिएको, विपद्को बेलामा मुख्यसचिव एकनारायण अर्याल आफ्नो जिल्लामा अबिर मालामा व्यस्त रहेको, प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश सयरमै रमाइरहेको विवरण सार्वजनिक भएपछि विपद्मा ज्यान जोगाउन सङ्घर्षरत सर्वसाधारणको चित्त कुँढिनु सामान्य नै थियो।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहदेखि गृहमन्त्री रमेश लेखकसम्म विपद्मा सरकारी संयन्त्र परिचालनमा पूर्ण असफल भएको बेलामा सरकारी निकायले नै जारी गरेको अलर्टपछि पनि असफल भएको सरकारकी संयन्त्रको बचाउमा प्रधानमन्त्रीले तुच्छ टिप्पणी गरेपछि सार्वजनिक रूपमै उनको आलोचना बढ्यो।

मङ्गलवार बाढी-पहिरोको विपद्पछि खोजी, राहत तथा पुनर्स्थापनाबारे सरकारी योजनाबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर आफैँले पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदा सोमबारको शैली दोहोर्याएनन्, बरु पूर्व तयारीमा कमजोरी भएको स्विकारे।

उनले भारी वर्षा हुनसक्छ भनेर जल तथा मौसम विज्ञान विभागले रेड अलर्ट जारी गरेपछि अरू बेलाजस्तै पूर्व तयारी गरेको तर यति ठुलो विपत्तिको सामना गर्न सक्ने गरी तयारी भने नगरिएको स्विकारे।

‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो। ठुलै विपत्ति आइलाग्यो’ उनले भने।

उनले विपद्बाट भएको क्षतिको विस्तृत क्षति मूल्याङ्कन गरी पुनः निर्माण तथा पुनः लाभका कार्यक्रमको कार्य योजना तत्काल तर्जुमा गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा कार्यान्वयन गरिने बताए।

विपद्मा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको प्रबन्ध गरिसकिएको र विपद्पश्चात् फैलिनसक्ने सम्भावित रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी गरिएको बताए।

बाढी, पहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी संरचनाहरूको तत्काल मर्मतसम्भार गरी खानेपानी प्रणालीलाई पुनः स्थापना गरिने, रणनीतिक सडकलाई थप तदारुकताका साथ यथाशीघ्र सञ्चालन गरिने, पहिरोबाट अवरुद्ध सडक खोल्ने तथा पुल बगेका महत्त्वपूर्ण सडकमा बेलिब्रिज जडान गरिने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सनजस्ता वैकल्पिक माध्यमबाट तत्काल यातायात सञ्चालन गर्ने उनले दाबी गरे।

भिजिबिलिटीमा विवादित गृहमन्त्रीको बचाउ

नख्खुमा चार घण्टासम्म उद्धारको पर्खाइमा रहेकाहरूको उद्धार हुन नसक्दा चार जना बगे। जसमध्ये एक बालिका अझैँ फेला परेकी छैनन्। राजधानीमै देखिएको उद्धारको यो बिजोगको कारण गृहमन्त्री रमेश लेखकले भिजिबिलिटी नहुँदा उद्धार हुन नसकेको भनेपछि उनको तीव्र आलोचना भयो।

बाढीमा चार जना बगेकोमा एक युवाले दुई जनाको उद्धार गरेका थिए भने एक जना आफैँ पौडिएर बाँचेका थिए। बाढी-पहिरोमा नख्खु लगायतका क्षेत्रमा राहत तथा उद्धारमा गृह प्रशासन पूर्ण असफल भएको थियो।

प्रधानमन्त्री ओली मङ्गलवार एकाएक गृहमन्त्री लेखकको बचाउमा उत्रिए। लेखकले प्रारम्भिक जानकारीमा आएको विषय सार्वजनिक गरेको भन्दै यसलाई अयोग्यता वा अपराधका रूपमा लिन नहुने तर्क गरेका थिए।

गैर जिम्मेवार मुख्यसचिवबारे मौन

देश बाढी-पहिरोको चपेटामा परेको बेलामा मुख्यसचिव एकनारायण अर्याल भने आफ्नो गृह जिल्लामा मुख्यसचिव नियुक्त भएकोमा खादामाला ओढेर सम्मान थाप्दै हिँडिरहेका थिए।

बाढी र पहिरोको कहर बढेपछि निजामती प्रशासन परिचालन र आकस्मिक मन्त्रिपरिषद् बैठक राख्नेबारे सल्लाह गर्न तत्कालीन कार्यवाहक प्रधानमन्त्री रहेका प्रकाशमान सिंहले फोन गर्दा उनले फोन समेत नउठाएको आरोप समेत छ।

यस्तो गम्भीर विपत्तिमा केन्द्रमा बसेर राहत र उद्धारमा कर्मचारी प्रशासन परिचालन गर्नुको साटो सम्मान थाप्दै हिँडेर मुख्यसचिव अर्यालले उनी कुन हदसम्म गैर जिम्मेवार छन् भन्ने देखाए नै। मुख्यसचिवको यस्तो गैर जिम्मेवार व्यवहारबारे भने प्रधानमन्त्री ओलीले कुनै टिप्पणी गरेनन्।

असोज १४, २०८१ मंगलबार २२:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।