नगर विकासको जग्गा र घरमा नियम विपरीतका व्यक्तिहरूको रजाईं, ७७ लाख बढी भाडा पनि तिरेनन्

नगर विकासको जग्गा र घरमा नियम विपरीतका व्यक्तिहरूको रजाईं, ७७ लाख बढी भाडा पनि तिरेनन्

सुर्खेत : सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको सार्वजनिक जग्गा र घरको भाडामा व्यक्तिहरूले रजाईं गर्ने गरेको पाइएको छ।

नगर विकास समितिका पदाधिकारीहरूले आफूखुसी हचुवाका भरमा सार्वजनिक जग्गा व्यक्ति र संस्थालाई मनलाग्दी वितरण गर्दा समितिले भाडा उठाउन सकिरहेको छैन। 

व्यवसायी पदमा खड्काले हालसम्म तीन लाख ७१ हजार ९० रूपैयाँ उनले बुझाउनुपर्ने छ। तर, उनले २०७९ माघदेखि २०८१ असारसम्म भाडा चुक्ता गरेकी छैनन्। बरू नगर विकाससँग भाडामा लिएको जमिनमा विभिन्न संरचना बनाएर तेस्रो पक्षलाई भाडामा दिएकी छन्। उताबाट भाडा पनि उठाइरहेकै छिन्। 

पदमाले मासिक रूपमा भाडा बुझाउनु पर्ने भए पनि तीन वर्षयता एक पटक पनि भाडा नतिरेको नगर विकास समितिका सह-लेखापाल खड्कबहादुर रानाले बताए। 

‘सम्झौता अनुसार उहाँले मासिक रूपमा भाडा बुझाउनु पर्थ्यो। तर, उनीहरुले नियमित भाडा बुझाएका छैनन्,’ सह-लेखापाल रानाले भने, ‘पटक-पटक ताकेता गर्दा पनि तीन वर्षयता उहाँले भाडा बुझाउनु भएको छैन।’ 

त्यस्तै, अर्का व्यवसायी हिक्मत योगीले ०७९ असोजदेखि तीन लाख २८ हजार ८ सय रूपैयाँ भाडा हालसम्म बुझाएका छैनन्। 

गत चैतबाट उनको जग्गा भाडा उपत्यका नगर विकासले खाली गरिसकेको छ। तर, उनले अझै भाडा बुझाएका छैनन्। 

नास्ता पसल सञ्चालनका लागि भन्दै सुनिता लामाले नगर विकासको जमिन भाडामा लिइन्। सम्झौताअनुसार उनले मासिक ६ हजार ७ सय ५० रूपैयाँ नगर विकासलाई बुझाउनु पर्थ्यो। तर, उनले हालसम्म भाडा बुझाएकी छैनन्। लामाले पनि ८ लाख ६० हजार ७ सय ५६ रूपैयाँ ०७४ जेठदेखि हालसम्म बुझाएकी छैनन्। 

उनीहरू मात्रै होइनन्, यहाँ १ सय ४० जना मध्ये १० जनाले मात्रै नियमित भाडा तिरेका छन्। अधिकांश व्यक्तिले २०७४ देखि नै भाडा तिरेका छैनन्। 

०८० चैतमा ८३ जना व्यक्तिलाई जग्गा र घरभाडा रद्द गरेर सटर खाली गरेपनि अझै उनीहरुले तिनुपर्ने बक्यौता रकम भने तिरेका छैनन्। आधाभन्दा बढी रकम उनीहरुले उपत्यका नगर विकास समितिलाई तिर्न बाँकी छ। यति हुँदाहुँदै पनि अधिकांश जग्गाहरू फेरि सम्झौता गरिँदै आएकाे छ।

उपत्यका नगर विकासले १ सय ४० जना व्यक्तिलाई भाडामा दिइएका जग्गा र घरको ७७ लाख ८३ हजार ६६ रुपैयाँ बक्यौता रहेको छ। 

गुरूयोजनामा कुनै व्यक्ति वा संस्थाका लागि भाडामा दिनेगरी जग्गा छुट्याएको छैन। तर, यहाँ धेरैजसो व्यक्तिले नै यसको रजाईं गरिरहेको देखिन्छ। 

जबकि गुरूयोजनाले मुख्यगरी नगरका आवास क्षेत्र, पोखरी, प्राइपरी स्कुल तथा रिजर्भवेसन, पार्क, बुलबुले उद्यान, व्यवसायीक प्रायोजन, गोदाम, शैक्षिक, सार्वजनिक र सरकारी क्षेत्रका नाममा एक सय ८४ विगाहा १२ कठ्ठा २९ धुर जग्गा समितिको स्वामित्वमा देखिन्छ। 

असोज १४, २०८१ मंगलबार २१:०४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।