आफूविरूद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि बार अध्यक्ष घिमिरेले भने, 'कैद नै बस्नु परेपनि तयार छु'

आफूविरूद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि बार अध्यक्ष घिमिरेले भने, 'कैद नै बस्नु परेपनि तयार छु'

काठमाडौं : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताएका छन्।

उनीविरूद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार पत्रकार सम्मेल गर्दै उनले प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने बताए। 

उनले भने, ‘प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुनुहुन्छ। संवैधानिक परिषद्को सदस्य पनि हुनुहुन्छ। यो न्याय परिषद्ले गरेका काम क्रियाकलापको सन्दर्भबारे बोलिएको शब्द हुन्। त्यसकारण विरोध गर्न पाइन्छ। हरिकृष्ण कार्की प्रतिवेदनमा स्वयंम भोलि बन्न लाग्नुभएको प्रकाश राउतले हस्ताक्षर गर्नुभएको छ। प्रतिवेदन मैले बोलेको शब्द भन्दा धेरै कडा छ।’

उनले कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि आफू तयार रहेको तर गैर कानुनी र गैर संवैधानिक कामलाई संवैधानिक भन्न कदापी नसक्ने जिकिर गरे। 

उनले भने, ‘कानुनको शासन र न्यायपालिकाको रक्षाको लागि मैले मुद्दा फेस गर्दा त्यसको परिणामा जे आएपनि भोग्न तयार छु। कैद नै बस्नु परेछ भने पनि म त्यसको लागि तयार छु। तर, गैरकानुनी गैरसंवैधानिक कामलाई संवैधानिक भन्न सक्दिन।’

अध्यक्ष घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए।

उनले गैरसंवैधानिक न्याय परिषद नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको बिकृति र विसङ्गति अन्त्यको माग गर्दै आएका छन्।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतको अवहेलनाको रुपमा ब्याख्या गर्दै प्रतिवेदन तयारी गरिरहेको छ। 

असोज १४, २०८१ मंगलबार २०:२६:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।