विपद्पछि कसरी दैनिकी चलाइरहेका छन् सुकुम्बासी बस्तीका नागरिक?

विपद्पछि कसरी दैनिकी चलाइरहेका छन् सुकुम्बासी बस्तीका नागरिक?

काठमाडौं : बाढीबाट विस्थापित थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीका धेरै परिवार वर्षा रोकिएसँगै घर फर्किरहेका छन्।  

बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बस्ती डुबानमा परेको थियो। बाढीले विस्थापित कतिपय परिवारले बस्ती छेउकै गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आश्रय लिए। बाँकीले आफन्तको सहारामा रात बिताए। 

विद्यालयमा आश्रय लिइरहेका ५३ वर्षीया मङ्गलबहादुर मगर आइतबारदेखि घर फर्किएर सरसफाइमा जुटेका छन्। डुबानमा परेको घरको छानो छ, तर छानोमुनिको कोठाहरू हिलाम्मे छन्। हिलो सुक्न नपाइ घरभित्र बस्न सक्ने स्थिति छैन। 

बाढीले बगाएर बचेका हिलाम्मे लत्ताकपडा, भाँडा, फर्निचर र खाद्यान्न बागमती किनारामा लहरै सुकाइएका छन्। 

घर फर्किने तयारी गरिरहेका उनलाई वर्षातसँगै फेरि बाढीको त्रासले छाडेको छैन। 

'एक दशक पुग्न लाग्यो यो बस्तीमा बसेको। तर, पहिलो पटक यति बिघ्न बाढीको सामना गर्नुपर्यो। मेरो परिवारको अन्त जाने ठाउँ छैन। बसौँ, बाढीको डर छ, हिलाम्मे कपडाहरू बागमतीकै पानीले धुँदै उनले भने, चाडपर्व नजिकिँदै गर्दा घरको अन्य महत्वपूर्ण सामग्रीसँगै खाद्यान्न पनि बग्यो।'

बुवालाई सफाइमा सहयोग गरिरहेका मगरका कक्षा १ र ४ मा पढ्ने दुई छोरीले पनि गुनासो सुनाइन्, 'हाम्रो किताब र झोला भिज्यो। आज स्कुल जान पाएनौँ।'

थापाथलीको सुकुम्बासी बस्तीमा एक सय ३६ परिवार बसोबास गर्दै आएका छन्। 

काठमाडौंबासी नियमित दैनिकीमा फर्किँदै गर्दा सुकुम्वासी बस्तीका परिवार पनि सामान्य दैनिकीमा फर्किने तयारीमा देखिन्थे। सुकुम्वासी बस्तीमा वर्षौँदेखि बस्दै आएका गोपाल पौडेलको परिवारले डुबान भइसकेपछि पनि घर छोडेनन्। बस्तीमा पौडेल परिवार कोठाभित्रको हिलो सुकाउन र सफाइमा व्यस्त छन्। 

'पसलको सामान बाढीले बगायो। बचेका सामानको सुरक्षाका लागि बाढीको पहिलो दिनदेखि यहीँ बसेका छौँ। असहज पक्कै छ। तर, बस्तीका आधा परिवारले घर छाडेका छैनन्, उनले भने। 

टेकु, थापाथली, त्रिपुरेश्वर आसपासका बस्तीका परिवार पनि बाढीपछि घर फर्किने तयारीमा छन्। त्रिपुरेश्वर र सानेपा जोड्ने बागमती पुल नजिकैको वंशीघाटमा किराना पसल गर्दै आउनुभएका वीजबहादुर मोक्तानको परिवार सरसफाइमा जुटेका छन्। 

विगत ३५ वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएको बताउने मोक्तानको परिवारले अझै आफन्तको घरमा बास लिइरहेको छ। मौसममा सुधार आएसँगै बाढी पसेको घरको सरसफाइमा उनको परिवार जुटेको हो। 

'दुई तीन महिनाअघि पानीको प्रवाह बढेर घरको दैलोसम्म आएको थियो। तर, अहिले घर डुबानमा पर्ने गरी आयो। हामीले आफूलाई जसोतसो बचायौँ। बहुत डर लागेको छ। तर, यहीँ बसेर आधा जीवन बितिसक्यो, अहिले कहाँ जाने?, उनले भने। 

मोक्तान परिवारसँगै सुकुम्वासी बस्तीमा करिब एक सय ९७ घरपरिवार छन्। केही परिवार घर फर्किसकेका छन् भने बाँकी फर्किने तयारीमा छन्। 

असोज १४, २०८१ मंगलबार १९:३९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।