एनसेल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरमा कपिलवस्तुका चार सय बढीले लिए लाभ

एनसेल फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरमा कपिलवस्तुका चार सय बढीले लिए लाभ

काठमाडौं : एनसेल फाउन्डेसनले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा ४०० भन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएको बताइएको छ। 

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए। बिहान १० बजेबाट सुरू भएको शिविरमा आएका मानिसहरूले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरू पनि पाएको एनसेलले जनाएको छ। 

एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो। यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ। 

'हामीले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरू गर्दै आएका छौं, हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं, एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्। 

एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरू सञ्चालन गरिरहेको छ। 

असोज १४, २०८१ मंगलबार १९:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।