नख्खु क्षेत्रको अवस्था बुझ्न पुगेका प्रचण्डलाई पीडितहरूले भने 'अभिभावकत्व गरिदिनुस्'

नख्खु क्षेत्रको अवस्था बुझ्न पुगेका प्रचण्डलाई पीडितहरूले भने 'अभिभावकत्व गरिदिनुस्'

ललितपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरूले विपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन्।

डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरूले यस्तो आग्रह गरे। 

ललितपुरको नख्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगेका अध्यक्ष प्रचण्डलाई पीडितहरूले जतिसक्यो चाँडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन्।

पीडितहरूले अझै उद्धारको काम नसकिएको, धेरै मानिसहरू घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाँडो आफूहरूको जनजीवन  सहज बनाइदिन आग्रह गरे।

पीडितहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरूलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

सरकारले उद्धार र राहतमा ढिलाइ गरेको सही भएपनि अहिले सरकारको बिरोध गर्नुभन्दा सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताए।

जनजीवन सहज बनाएर सबै पीडितलाई दशैं मनाउन सक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताए।  

असोज १४, २०८१ मंगलबार १८:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।