घर जान टिकटको लाइनमा बसेका यात्रुको आक्रोश : विपद्मा ओली अमेरिका घुमेर बसे, बालेनले पनि केही गरेनन्

घर जान टिकटको लाइनमा बसेका यात्रुको आक्रोश : विपद्मा ओली अमेरिका घुमेर बसे, बालेनले पनि केही गरेनन्

काठमाडौं : दशैं नजिकिएसँगै उपत्यका छाड्नेहरूको संख्या क्रमशः बढ्दैछ। सडक सहज भएका गन्तब्यसम्म पुग्न मानिसहरूले बसको टिकट बुकिङ गरेका छन्। बिहीबारदेखि आएको अविरल बर्षाअघि नै दशैंमा गाउँ जानेहरुले टिकट बुकिङ गरेपनि सडक पूर्ण रुपमा संचालनमा नआउँदा यात्रुहरू अन्योलमा छन्।  

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन यात्रुको भीड भने पातलिएको छैन। चाँडै सडकको अवरोध हट्ला र सहजै गाउँ फर्किने अपेक्षा लिएकाहरू काउन्टर अगाडि लाइन लागेका छन्। 

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेल्धुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको बिर्तामोड, ताप्लेजुङ, इलाम, काँकडभिट्टा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड छ।

सरकारले अनलाइनमार्फत टिकट बुक गर्न पाउने व्यवस्था मिलाए पनि यात्रु भने बिहानैदेखि लाइनमा बसेर टिकट काटिरहेका भेटिन्छन्। 

हरेक वर्ष दशैं मनाउनका लागि काठमाडौंबाट २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्। सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै १० लाख यात्रुले टिकट बुकिङ गरिसकेको व्यवसायीहरूको भनाइ छ। 

काठमाडौंको गंगबु बसपार्कमा टिकटको लागि समस्या नभए पनि मौसम प्रतिकुलका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन्। लगातार तीन दिन अविरल वर्षा काठमाडौं जोड्ने सडकहरू अवरुद्ध हुँदा पूर्व र पश्चिम जाने यात्रुहरू बढी मर्कामा छन्। 

तर, अविरल बर्षा सकिएको पछिल्लो तीन दिनसम्म गाडी गुड्न नसक्दा यात्रुहरूमा आक्रोशित देखिन्छन्। सडक सुचारू गर्न सरकारले पर्याप्त काम नगरेकोप्रति यात्रुहरू आक्रोशित बनेका हुन्। 

यात्रुहरूले फरक फरक गुनासो गरिरहेका छन्। कतिपय यात्रु दशैंको लागि भनेर विदेशबाट नेपाल आएका छन्। काठमाडौंबाट गाउँ जान नपाएर चिन्तामा रहेका उनी सरकारप्रति बढी रुष्ट छन्। नेपालको सडक र सरकारको कार्यशैली देखेर आफू दिक्क भएको नयाँ बसपार्कमा भेटिएका बिष्णु पराजुलीको भनाइ छ।

‘सडक अवरुद्ध छ। विदेशबाट आएको तीन दिन भइसक्यो। सडक अहिलेसम्म खुल्न सकिरहेको छैन। धेरैजना काठमाडौंमै अड्किएर बस्दा दिक्क भइसक्यो, खर्च बढिरहेको छ। यातायात व्यवसायी महासंघले पनि गाडी पठाउन सकेको भए सजिलो हुन्थ्यो,’ पराजुलीले भने। 

यस्तै पीडा सुनाउँदै नयाँ बसपार्क क्षेत्रमै भेटिएका यात्रु रमेश क्षेत्रीले भने, ‘उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह काठमाडौंकै जनप्रतिनिधि हुन्। तर, बसपार्कमा सयौं मानिसहरू मान्छे भोकै छन्। कतिले पानीसमेत पिउन पैसा नभएको अवस्था छ तर, सिंह जस्ता जनप्रतिनिधिहरूको कुनै सहयोग र सद्भाव छैन।’

क्षेत्रीले काठमाडौं महानगरका प्रमुख बालेन शाहले पनि पहलकदमी नलिएको भन्दै बसपार्कतिर आफ्नो ध्यान लगाउन आग्रह गरे। 

उनले सडक खुलाउने प्रयासमा सरकारले नेपाल प्रहरी, सेना र सशस्त्रहरूलाई दुःख दिइरहेको तर आवश्यक बजेट एवं इक्युमेन्टहरू उपलब्ध नगराएकोमा आक्रोश व्यक्त गरे। 

बस चालक राकेश भट्टले पनि चार दिनसम्म आफ्नो गाडी उपत्यका भन्दा बाहिर जान नसक्दा खर्च धान्नै मुस्किल पर्ने बताए। उनले विपतमा सरकारले सहयोग नगर्ने हो भने यस्तो सरकारको आवश्यक नभएको बताए।  

उनले भने, ‘विपतको समयमा प्रधानमन्त्री (केपी शर्मा ओली) अमेरिका घुम्न मिल्छ? जनताको केही चासो गर्दैनन्। सरकारलाई पहिले नै जानकारी भइसकेको थियो बाढी र पहिरोमा परेर मान्छेहरू अलपत्र छन् भनेर। तर, सरकार कानमा तेल हालेर सुत्यो। फसेका यात्रुहरूलाई उद्धार गर्न कुनै सरकारी निकाय पुगे । मरिसकेपछि लासमात्र गन्नका लागि सरकार उद्धारको नाटक गर्न दुर्घटनाग्रस्त क्षेत्रमा पुग्यो।’

उनले राती बस नचालाउने सरकारको निर्णय राम्रो भएपनि पहलकदमी नगरी सञ्चालनमा रोक लगाउनु उचित नहुने बताए। उनले दुईवटा पार्टी मिलेर सरकार बनाउने तर पहलकदमी गरेर निर्णय लिन नसक्ने सरकार कसैलाई नचाहेको बताए। 

अहिलेको सरकारप्रति सबैको गुनासो त छँदै तर युवापुस्ताले सबैभन्दा बढी गुनासो गरिरहेको अवस्था छ। यस्तै अर्का यात्रु अनिल गुप्ताले सरकारले पहल गरेको भए धेरै दिनसम्म यात्रु यसरी अलपत्र नपर्ने बताए। 

सरकारले घुम्नमा एक करोड खर्च गर्नसक्ने तर सडक सञ्जालको लागि एउटा डोजर किन्न नसक्नु लाजमर्दो भएको उनले बताए।

पहाडी जिल्लाहरूमा जानको लागि एउटा मात्र रुट भएकाले हुम्ला र दार्चुला जाने यात्रुहरू थोरै समस्यामा परेको तुलसीपुर यातायात प्राइभेट लिमिटेडका काठमाडौं शाखा प्रमुख रमेश गौतमले बताए। उनले यात्रुहरूले दुःख नपाउन भन्नकै लागि मोबाइल तथा अनलाइनबाट टिकट खुला गरिएको समेत बताए।

उनले बसमा तोकिएको भाडा भन्दा कसैले बढी लिएको पाइए कारवाही गरिने बताए। उनले गाडी सडक अवरुद्ध हुँदा कुनै यात्रु विशेष कारणले जान सक्ने अवस्था नभए पैसा समेत फिर्ता गरिने बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँर सडकको अवस्था ठिक नभएसम्म गाडी गुडाउन नसकिने बताउँछन्। बुकिङ खुलाएको पहिलो दिन यात्रुहरूको भीड अत्यधिक भएपनि हाल भीड घट्दै गएको उनको भनाई छ। 

‘बाटो नखुलिकन बुकिङ मात्र गरेर भएन। जब राजमार्ग सुचारु हुन आउँछ त्यसपछि टिकटको विषय सहजीकरण गर्दै जाने छौं,’ उनले भने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग घटस्थापनासम्म सडकलाई ठिक बनाउने र त्यसपछि धमाधम यात्रुलाई सहज सेवा दिने सहमति भएको भएपनि अब त्यो सम्भव नभएको उनले बताए।

‘पहिरो खुलाएपछि पनि ढुक्कले यात्रा गरिहाल्नुपर्ने अवस्था छैन। अझै घाम लागेपछि सुक्खा पहिरो त जान्छ जान्छ। तर, सरकारको संयन्त्र र सडकमा काम गरिरहेकाहरूसँग भएको स्रोत र साधनलाई पुरै परिचालन हुने गरेर रातदिन नभनी दशैंभरी परिचालन गर्नुपर्ने स्थिति छ,’ अध्यक्ष स्वाँरले भने।  

असोज १४, २०८१ मंगलबार १७:१५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।