‘नख्खु खोलामा २ जनालाई बचाउन सकिएन’ भनेका गृहमन्त्रीको गुनासो : ‘एउटा घटनालाई लिएर केही गरेन भन्ने?’

‘नख्खु खोलामा २ जनालाई बचाउन सकिएन’ भनेका गृहमन्त्रीको गुनासो : ‘एउटा घटनालाई लिएर केही गरेन भन्ने?’

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी-पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन्।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराए। उनका अनुसार सरकारले सात सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको छ। 

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानीय आवास बनाउने व्यवस्था मिलाइएको बताए। क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताए। 

गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार आठवटा टोली बनाएर क्षतिग्रस्त आठ जिल्लामा पठाइएको बताए। 

यातायात संचालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको बताए। नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उनको भनाइ थियो। 

गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो। 

उनले भने, ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो। त्यतिबेला सेनाले हेलिकप्टर उठाउने भिजिविलिटी नभएको बताउनु भएको थियो। एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो। प्रहरीले सहयोग नगरेको भन्ने होइन। चार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।’ 

गएको शनिबार ललितपुर महानगरपालिका-२५ सुगम टोल बस्दै आएका रौतहटका राजु साह र उनकी छोरी मेघना साहलाई नख्खु खोलाले बगाउँदै गर्दा सकुशल काभ्रेका तेमाल- ९ का ३३ बर्षीय चाणिकलाल तामाङले सकुशल उद्धार गरेका थिए। 

उता, चाणिकलालले भेलमा हाम फालेर उनीहरूलाई उद्धार गर्दैगर्दा यता गृहमन्त्री लेखकले भने उनीहरूलाई बचाउन नसकेको प्रतिक्रिया दिएका थिए। 

मनसुन कमान्डको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले भनेका थिए, 'नख्खु खोलामा केहीलाई टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकिएन। यसमा म अत्यन्तै दुःखी छु। भिजिबिलिटीका कारण हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन। जमिनबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उद्धार गर्ने प्रयास हुँदाहुँदै पनि जोगाउन सकिएन।'  

असोज १४, २०८१ मंगलबार १६:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।