बुढानीलकण्ठ नगर अस्पतालमा एक करोड ३० लाखको ल्याब मेसिन खरिदमा सेटिङ, कम्पनीको क्याटलग नै कपिपेष्ट

बुढानीलकण्ठ नगर अस्पतालमा एक करोड ३० लाखको ल्याब मेसिन खरिदमा सेटिङ, कम्पनीको क्याटलग नै कपिपेष्ट

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका अन्तर्गतको ‘बुढानीलकण्ठ नगर अस्पताल’ले मिलेमतोमा करिब एक करोड ३४ लाखमा ल्याबसम्बन्धी मेसिनको टेण्डर प्रक्रिया अगाडि बढाएको छ। उकेराको खोजमा बुढानीलकण्ठ नगर अस्पतालले ७० लाखभन्दा कम मूल्यमा आउने ल्याबसम्बन्धी मेसिन ६५ लाख बढीमा खरिद गर्नेगरी प्रक्रिया अगाडि बढाएको खुलेको हो।

नगर अस्पतालले ‘प्याकेज-ए’ र ‘प्याकेज-बी’ गरी क्रमशः ८८ लाख र ४६ लाखमा ती मेसिन खरिद गर्नेगरी प्रक्रिया अघि बढाएको छ। उकेरालाई प्राप्त तथ्य अनुसार खरिद प्रक्रियामा रहेको सो ल्याबसम्बन्धी मेसिनको स्पेशिफिकेशन एक मात्र कम्पनीले ठेक्का पार्ने गरी नै अगाडि बढेको प्रष्टै देखिन्छ।

नगर अस्पतालले २०८१ भदौ १४ गते मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो। असोज १४ गते (सोमबार) मध्यान्ह १२ बजेसम्ममा ल्याबसम्बन्धी मेसिनको टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकियो भने सोही दिन एक बजेलाई टेन्डर खुल्ने मिति तय गरियो।

तर, यो टेण्डरको संशोधन गर्दै टेण्डर प्रस्ताव गरि सक्नुपर्ने अन्तिम मिति असोज २१ (२०२४, अक्टोबर ०७)सम्मलाई सारिएको छ भने सोही दिन एक बजे टेण्डर खुल्ने मिति तोकिएको छ।

नगर अस्पतालले खरिदका लागि टेण्डर आह्वान गरेको ल्याब सम्बन्धी सो मेसिनको टेण्डर नम्बर ‘एनसिबी/बीएनपी/जिडब्लु/०८१_८२/०३’ हो। सो मेसिनको टेण्डर आह्वानको कागजातमा, ‘सप्लाई, डेलिभरी, इन्स्टलेशन, टेस्टिङ एण्ड कमिसनिङ अफ ल्याबोरेटोरी इक्वीप्मेन्ट्स इन बुढानीलकण्ठ मनिसिपल हस्पिटल’ उल्लेख छ।

नगरपालिकाको पैसाको दोहन
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले ल्याबसम्बन्धी खरिद प्रक्रियामा रहेको यो मेसिनको बजेट एक करोड ३० लाख भएको बताए। उनले खरिदलाई पारदर्शी बनाउनुका साथै निःशुल्क मेसिन आएको खण्डमा त्यस्तो मेसिन पनि लिन सकिने तर्क गरे।

ल्याब सम्बन्धी मेसिन पनि अनुदानमा आए लिन सकिने तर मेसिन निःशुल्क पाएको खण्डमा रिएजेन्ट महँगो पर्ने अवस्था आउन नदिने उनको दाबी छ।

केही सरकारी अस्पतालहरूले रिएजेन्ट खरिदमा प्रतिस्पर्धा गराउने अनि जसले रिएजेन्टको टेण्डर पार्छ उसैले मेसिन विना पैसा अस्पतालमा जडान गरेर करार अवधिसम्म प्रयोग गर्नुपर्ने अभ्यास थालेका छन्। यस्तो अवस्थामा सस्तोमा गुणस्तरीय रिएजेन्ट ल्याइदिने सप्लायर्ससँग रिएजेन्ट किने पुग्छ। मेसिन किन्नु पर्दैन।

तर, बुढानीलकण्ठ नगर अस्पतालले मेसिन पनि किन्ने अनि रिएजेन्ट पनि किन्ने गरि खरिद प्रक्रिया अगाडि बढाएको छ। यसमा प्रष्टै कमिशनको मिलेमतो देखिन्छ। तर, खरिद प्रक्रिया नै अगाडि बढिसकेको अवस्थामा कसैले मेसिन अनुदानमा दिएको खण्डमा मेसिन नकिन्न  सकिने नगरपालिकाका प्रमुखको तर्क हावादारी देखिन्छ।

‘यदि हामीलाई त्यस्तो डोनेशन आयो भने टेण्डरबाट नलिन पनि सक्छौँ’, उनले भने।

कर्मकाण्डी संशोधन
सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दर रेट मागेर लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। टेन्डर आह्वान भएर टेन्डर प्रक्रिया अगाडि बढेपछि प्रि-बिड मिटिङ हुन्छ।

अस्पतालले २०८१ असोज दुई गतेलाई ‘प्रि-बिड मिटिङ’को मिति तोकेको थियो। प्रि-बिड मिटिङ पनि भयो। तर, यो मिटिङपछि केही बुँदाहरू संशोधन भए पनि संशोधन हुनुपर्ने मुख्य बुँदा संशोधन नै भएको देखिँदैन।

प्रि-बिड मिटिङमा स्पेशिफिकेशन निश्चित कम्पनीको उत्पादनसँग मिल्ने गरि बनाएको भन्दै केही सप्लायर्सले संशोधनका माग नगरका हैनन्। तर, नगर अस्पतालले भने कर्मकाण्डी पूरा गर्न मात्रै प्रि-बिड मिटिङपछि सो मेसिनको केही बुँदा संशोधन गर्यो। तर, मुख्य बुँदा भने संशोधन नै नगरी सेटिङ अनुसार नै खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ।

टेन्डर आह्वानपछि ‘प्रि-बिड मिटिङ’मा मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ-आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिन्छन्। प्रि-बिड मिटिङको छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको सुझाव सहितको लिखित माग गर्न सक्छन्।

नगर अस्पतालको ‘प्रि-बिड मिटिङ’मा पुगेका सप्लायर्स कम्पनीका प्रतिनिधिहरूले पनि खरिद हुने ल्याब सम्बन्धि मेसिनको प्राविधिक स्पेशिफिकेशन लगायतका बुँदामा असहमति जनाउँदै लक्ड भएका बुँदा संशोधनको माग गरे। प्राविधिक स्पेशिफिकेशन भनेको कुन मेसिन, कस्तो किसिमको, कुन-कुन सुविधा तथा विशेषता रहेको भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही आधारमा खरिद गरिने कुन मेसिन गुणस्तरीय र कुन कम गुणस्तरीय भन्ने सुनिश्चित हुनसक्छ।

उकेराले प्राप्त गरेको प्रमाण अनुसार नगर अस्पतालले मेसिन उत्पादक निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर खरिद प्रक्रिया अगाडि बढाएको छ। त्यसैले अन्य सप्लायर्सहरूले स्पेशिफिकेशन संशोधनको माग गरे।

स्पेशिफिकेशनमा कम्पनीको क्याटलग नै कपिपेष्ट 
उकेराको खोजमा बुढानीलकण्ठ नगरपालिका अन्तर्गतको बुढानीलकण्ठ नगर अस्पतालले ल्याब सम्बन्धी मेसिन खरिदका लागि बनाएको प्राविधिक स्पेशिफिकेशनको बुँदाहरूमा निश्चित मेसिन उत्पादक कम्पनीसँग मात्रै मिल्नेगरी लक्ड गरेको प्रष्टै देखियो।

निश्चित कम्पनीका प्राविधिक स्पेशिफिकेशनका क्याटलग नै कपिपेष्ट गरेर चाहेकै सप्लायर्स कम्पनीलाई टेण्डर दिनेगरी प्राविधिक स्पेशिफिकेशन लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएको देखियो। नगर अस्पतालले केही बुँदा संशोधन गरे पनि मुख्य बुँदाहरू लक्ड नै छन्।

बुढानीलकण्ठ नगर अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको ल्याबसम्बन्धी मेसिनको दुई वटा प्याकेजमध्ये ‘प्याकेज-ए’ मा पाँच वटा मेसिन छन्। ‘प्याकेज-ए’का पाँच वटा मेसिनमध्ये एउटा ‘केमिलुमिनेस्सेन्स इम्युनो एसे (क्लिया) एनालाइजर’, एउटा ‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्री एनालाइजर’, एउटा ‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाइजर (५ पार्ट)’, एउटा ‘ब्लड कोगुलेशन एनालाईजर’ र एउटा ‘इलेक्ट्रोलाईट एनालाईजर’ रहेका छन्। ‘प्याकेज-ए’को यी पाँच वटा मेसिन खरिदको बजेट ८८ लाख छ।

उकेराले खोजको क्रममा नगर अस्पतालले ल्याब सम्बन्धी मेसिनको ‘प्याकेज-ए’को मेसिन खरिदको प्राविधिक स्पेशिफिकेशन लक्ड गर्ने मात्रै हैन, कम्पनीको क्याटलगका मुख्य बुँदाहरू हुबहु कपिपेष्ट गरेकोे तथ्य फेला पारेको छ।

‘प्याकेज-ए’को ‘केमिलुमिनेस्सेन्स इम्युनोएसे (क्लिया) एनालाइजर’ चिनियाँ उत्पादक कम्पनी ‘एइकाङ्ग मेड्टेक कम्पनी लिमिटेड’को ‘क्लिया-मेट प्लस’ मोडलको क्याटलगसँग हुबहु मिल्नेगरी लक्ड गरिएको छ।

‘प्याकेज-ए’को ‘केमिलुमिनेस्सेन्स इम्युनोएसे (क्लिया) एनालाइजर’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१७’ मा भएको ‘कार्डियाक मार्कर’, ‘इन्फ्लामेशन’, ‘एनेमिया’, ‘थाइरोइड’, ‘बोन युटिलाईजेशन’, ‘ब्रेन इन्जुरी’ र ‘इन्फर्टिलिटी’ जस्ता बुँदा चिनियाँ उत्पादक कम्पनी ‘एइकाङ्ग मेड्टेक कम्पनी लिमिटेड’को ‘सिएलआईए-मेट प्लस’ मोडलको क्याटलगसँग हुबहु मिल्नेगरी ‘कपि पेष्ट’ गरेर लक्ड गरिएको छ।

यो त एउटा बुँदाको उदाहरण मात्रै हो। अन्य बुँदा पनि हुबहु नै कपि पेष्ट गरेर लक्ड गरिएको छ। ‘केमिलुमिनेस्सेन्स इम्युनोएसे (क्लिया) एनालाइजर’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ४.२, ४.४, ४.९, ४.११, ४.१२, ४.१४ र ४.१६ लगायतका क्याटलगको कपिपेष्ट नै गरेर लक्ड गरिएको देखिन्छ।

केमिलुमिनेस्सेन्स इम्युनोएसे (क्लिया)को क्याटलग (दायाँ), संशोधनअघिको लक्ड गरिएको स्पेशिफिकेशन (बायाँ) र संशोधनपछिको स्पेशिफिकेशन (बीचमा)

‘प्याकेज-ए’को ‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्री एनालाइजर’को प्राविधिक स्पेशिफिकेशनको मुख्य बुँदा चिनियाँ उत्पादक कम्पनी ‘बायोबेस’को ‘बीके-२८०’ मोडको क्याटलगसँग हुबहु मिल्नगेरी प्राविधिक स्पेशिफिकेशन ‘कपिपेष्ट’ नै गरेर लक्ड गरिएको छ। उदाहरणका रूपमा एउटा बुँदा मात्रै हेरौं न:-

‘प्याकेज-ए’को ‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्री एनालाइजर’को प्राविधिक स्पेफिकेशनको बुँदा नम्बर ‘२.२’ मा भनिएको छ, ‘क्यापेबल अफ अण्डरटेकिङ २०० टेष्टस्/आवर अर मोर।’ जुन बुँदा चिनियाँ उत्पादक कम्पनी ‘बायोबेस’को ‘बीके-२८०’ मोडको क्याटलगको कपि पेष्ट हो। ‘फुल्ली अटोमेटेड बायोकेमेस्ट्री एनालाइजर’को प्राविधिक स्पेशिफिकेशन बनाउँदा थाहा नहोस् भनेर केही बुँदाहरू झुक्याउने किसिमले राखिएको छ।

फुल्ली अटोमेटेड बायोकमेस्ट्री एनालाइजरको क्याटलग (बायाँ), संशोधनअघिको लक्ड गरिएको स्पेशिफिकेशन (बीचमा) र संशोधनपछिको स्पेशिफिकेशन (दायाँ)

त्यसैगरी ‘प्याकेज -ए’को ‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाइजर (५ पार्ट)’ उत्पादक कम्पनी ‘मेलेट स्क्लोइसिङ्ग’को ‘एमएस४एस’ मोडलको क्याटलगमा भएका प्राविधिक स्पेशिफिकेशनका बुँदाहरू हुबहु कपि गरेर पेष्ट गर्दै लक्ड गरिएको छ। ‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाइजर (५ पार्ट)’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.१’ मात्रै हेरौँ न!

बुँदा नम्बर ‘४.१’ मा ‘मस्ट ह्याभ अ डिटरमिनेशन अफ मेजर्ड प्यारामिटर्स (डब्लुबीसी,..., आरबीसी, टीएचआर, एचबी, एचटीसी)...’उल्लेख छ। जुन ‘मेलेट स्क्लोइसिङ्ग’को ‘एमएस४एस’ मोडलको कपि पेष्ट हो। ‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाईजर (५ पार्ट)’को पनि यो लक्ड स्पेशिफिकेशनको एउटा उदाहरण मात्रै हो।

एक ‘फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाइजर (५ पार्ट)’को बुँदा नम्बर ४.१, ४.३, ४.६, ४.८, ४.९, ४.१० र ४.१२ जस्ता बुँदाहरू ‘मेलेट स्क्लोइसिङ्ग’को ‘एमएस४एस’ मोडलको क्याटलगमा भएका भएका बुँदाहरू नै कपिपेष्ट गरेको देखिन्छ।

फुल्ली अटोमेटेड हेमाटोलोजी एनालाइजरको क्याटलग (बायाँ), संशोधनअघिको लक्ड गरिएको स्पेशिफिकेशन (बीचमा) र संशोधनपछिको स्पेशिफिकेशन (दायाँ)

‘ब्लड कोगुलेशन एनालाइजर’को प्राविधिक स्पेशिफिकेशन भने कुन उत्पादक कम्पनी र कुन मोडलसँग लक्ड छ भन्ने एकीन हुन सकेन। त्यसैगरी एउटा ‘इलेक्ट्रोलाइट एनालाइजर’ चिनियाँ उत्पादक कम्पनी ‘बायोबेस’को ‘बीकेइ-सी’ मोडलको क्याटलगसँग हुबहु मिल्नगरी कपिपेष्ट नै गरेर प्राविधिक स्पेशिफिकेशन लक्ड गरिएको छ।

‘इलेक्ट्रोलाइट एनालाइजर’को प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘१.१’ मा ‘आइएसई इलेक्ट्रोलाइट एनालाइजर (एनए+, के+, सी१+, आइसीए२+, एनसीए२+, टीसीए२+, पीएच) फर एनालाइसिस अफ सेरम, प्लाज्मा, युरिन, होल ब्लड’ उल्लेख छ। जुन उत्पादक कम्पनी ‘बायोबेस’को ‘बीकेइ-सी’ मोडलको क्याटलगको कपिपेष्ट नै हो।

‘इलेक्ट्रोलाइट एनालाइजर’को पनि लक्ड भएको यो एउटा उदाहरण मात्रै हो। यसका सबै मुख्य बुँदा क्याटलगको कपिपेष्ट गरेर लक्ड गरिएको छ। ‘इलेक्ट्रोलाइट एनालाइजर’को बुँदा नम्बर ४.२, ४.३, ४.४, ४.६, ४.७, ४.९, ४.१० र ४.११ लगायतका बुँदाहरू चिनियाँ उत्पादक कम्पनी ‘बायोबेस’को ‘बीकेइ-सी’ मोडलको क्याटलग नै सारेर कपिपेष्ट गरी लक्ड गरेको देखिन्छ।

इलेक्ट्रुोलाइट एनालाइजरको क्याटलग (बायाँ), संशोधनअघिको लक्ड गरिएको स्पेशिफिकेशन (बीचमा) र संशोधनपछिको स्पेशिफिकेशन (दायाँ)

उकेराले ल्याब सम्बन्धी मेसिनको प्राविधिक स्पेशिफिकेशनको ‘प्याकेज-बी’ भने कुन उत्पादक कम्पनीसँग लक्ड गरिएको छ भन्ने विषय एकीन हुन सकेन। यो थप खोजको विषय बनेको छ। किनकी एउटा प्याकेज पूरै लक्ड गरेर खरिद प्रक्रिया अगाडि बढाएकाले अर्को प्याकेज पनि लक्ड भएको छैन भन्ने विषय पत्याउने आधार देखिँदैन।

त्यसैगरी ‘प्याकेज-बी’मा दश वटा मेसिन तथा सामग्री छन्। ‘प्याकेज -बी’का दश वटा मेसिन तथा सामग्रीमध्ये एउटा ‘कोलोरिमिटर’, एउटा ‘वाटर बाथ’, एउटा ‘बायोकेमेस्ट्रि इन्कुबेटर’, एउटा ‘हट एयर स्टेरिलाइजर’, एउटा ‘हाइ स्पिड सेन्ट्रिफ्युज’, एउटा ‘बायो-सेफ्टी क्याबिनेट’, एउटा ‘आइएलआर रिफ्रिजेरेटर’, एउटा ‘ल्याबोरेटोरी रेफ्रिजेरेटर’, एउटा ‘मिरो पाइपटेस सेट’ र एउटा ‘बाइनोकुलर माइक्रोस्कोप कम्पाउण्ड’ रहेका छन्। ‘प्याकेज -बी’ सो टेण्डरको रकम ४६ लाख हो।

गतवर्ष यसरी सेटिङ फेल भएको थियो
गत वर्ष पनि ल्याब सम्बन्धी यस्तै मेसिन करिब ८८ लाखमा खरिद गर्नेगरी टेण्डर भएको थियो। जानकार स्रोतका अनुसार एसेन्ट इन्कर्पोरेटेड प्रालि र हार्मोनी मेडिकल सिस्टम प्रालिले टेण्डर प्रस्ताव गरेका थिए। यी दुईमध्ये प्राविधिक मूल्याङ्कनको चरणबाट नै एसेन्ट इन्कर्पोरेटेड प्रालि अयोग्य हुने भएपछि प्राविधि मूल्याङ्कनको चरणमा नै टेण्डर रद्द गरियो।

गत वर्ष ल्याबसम्बन्धी मेसिन खरिदका लागि एउटै प्याकेजमा करिब ८८ लाखमा खरिद गर्नेगरी टेण्डर भएको थियो। तर, यो वर्ष भने उही किसिमका प्याकेजको मेसिन दुई वटा प्याकेजमा छुट्याएर बजेट समेत बढाउँदै करिब एक करोड ३४ लाखमा खरिद गर्नेगरी नगर अस्पतालले खरिद प्रक्रिया अगाडि बढाएको छ।

गत आर्थिक वर्ष फरक फर प्याकेजमा छुट्याएर टेण्डर नगरेका कारण सप्लायर्स कम्पनीले टेण्डर प्रस्ताव गर्न सक्ने अवस्था नरहेकाले टेण्डर नै रद्द गर्नुपरेको नगरपालिकाका प्रमुख अधिकारीले तर्क गरे। त्यसो त गत वर्ष सरकारी स्थायी बोयोमेडिकल इन्जिनियरले निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी मेसिनको लक्ड गर्न नमानेपछि नगर अस्पतालले टेण्डर नै रद्द गरेको स्रोतले जानकारी दियो।

यो वर्ष भने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका करारका बायोमेडिकल इन्जिनियर अमृत भण्डारीले ल्याब सम्बन्धी मेसिनको स्पेशिफिकेशन बनाएको खुलेको छ।

असोज १४, २०८१ मंगलबार १६:१०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।