सानो संसार :  स्टारडम हैन कन्टेन्ट खोज्नेले यो फिल्म नछुटाउनु

सानो संसार :  स्टारडम हैन कन्टेन्ट खोज्नेले यो फिल्म नछुटाउनु

फिल्म ‘द युग देखि युगसम्म’,‘चपली हाइट’,‘फाटेको जुत्ता’ लगायत नाम चलेका कलाकार राखेर फिल्म निर्माण गरेका निर्माता अर्जुन कुमार र अर्का निर्माता माधव वाग्लेले कम बजेटमा नयाँ कलाकारसहित फिल्म ‘सानो संसार’निर्माण गरे।

गत शुक्रवारबाट हलमा प्रदर्शनमा आएको फिल्म निरन्तरको वर्षाले बिथोलियो।

‘द युग देखि युगसम्म’,‘चपली हाइट’ जस्ता फिल्म बनाएका अर्जुन कुमारको कमर्शियल यात्रामा ब्रेक लाग्यो। चल्तीका कलाकारसहित फिल्म बनाउँदा पनि आर्थिक रूपमा नाफा नभएपछि उनी नयाँ कलाकारसहित सानो बजेटमा केन्द्रित भए।

७० लाखमा निर्माण भएको भनिएको फिल्म ‘सानो संसार’बाट उनले सन्देश भने ठुलै दिन खोजेका छन्। मध्यम परिवारमा आउने उतारचढावलाई मुख्य विषयवस्तु बनाइएको यो फिल्मको कथा र पटकथा निकै बलियो छ। कलाकारको अभिनय अब्बल छ।

युरोप, अमेरिका,अस्ट्रेलिया जान चाहने छोराछोरीको माग पुरा गर्न नसक्दा घरमा मच्चिएको रडाकोलाई समाधानको बाटो सहित कथा पस्किएको छ। नयाँ कलाकार अनि सानो बजेट भए पनि फिल्म निर्माणमा टिमले निकै मिहेनत गरेका छन्। कलाकारहरूको मिहेनत तारिफयोग्य छ।

परिचित कलाकारहरूको बकवास फिल्मभन्दा नयाँ कलाकार भए पनि कन्टेन्ट मन पराउनेहरूका लागि सानो संसार सानो फिल्म हैन। सन्तानको रहर र त्यो रहर पुरा गर्न अभिभावकले गर्ने सङ्घर्षको कथामा निर्माण टिमले एक अब्बल पारिवारिक फिल्म निर्माण गरेका छन्। 

लीला बहादुर खड्का (राज पङ्गेनी शर्मा), श्रीमती (सानुमाया खड्का), दुई छोरी र एक छोराका साथ काठमाडौँमा डेरामा बसेका छन्। सामान्य काम गरेर परिवारको गुजारा चलाइरहेका अभिभावकमाझ सन्तानको रहरले आर्थिक बोझ थपिँदै जान्छ। सन्तानबीच नै बा-आमाले विभेद गरेको अनुभव हुन्छ र सानो परिवारमा रडाँको बढ्दै जान्छ। त्यसको समाधान कसरी हुन्छ?  फिल्मको मुलकथासार यही हो।

कथा,पटकथा तथा संवाद निकै बलियो छ फिल्मको। दर्शकले फिल्मको संवाद र कथालाई मजाले आफ्नै घरको कथाको रूपमा अनुभव गर्न सक्छन्।

मध्यम परिवारको कथालाई सिद्धार्थ पुडासैनी र सरिश्मा खत्रीको मिहेनतका साथ लेखेका छन्। श्रीमान- श्रीमतीले लेखेको भएर होला कथा लैङ्गिक रूपमा समेत भड्किएको छैन।

श्रीमानले आफ्नो कुरा फिल्ममा जसरी पोखेका छन् श्रीमतीले पनि उत्तिकै सशक्त रूपमा पोखेकी छिन्। निर्देशक र लेखक र कलाकार नयाँ हुन्न भन्ने सङ्केत समेत देखिएको छैन फिल्ममा।

अहिलेको पुस्ताको हाउभाउ र चालचलनलाई निर्देशक पुडासैनीले मज्जाले पस्किएका छन्। पात्र छनोट राम्रो छ। नयाँ कलाकार भएता पनि एकसेएक अभिनय गरेका छन्।

पारिवारिक तथा सामाजिक कथावस्तुमा बनेको फिल्ममा कलाकार सीतादेवी तिमल्सिना,राज पङ्गेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमले आफ्नो भूमिका मज्जाले निभाएका छन्।

ब्याकग्राउण्ड म्युजिकले फिल्मलाई अगाडि बढाउन सहयोग गरेको छ। सिनेमाटोग्राफीमा समस्या छैन।

फिल्ममा कमजोरी नभएको होइन। लिलाकी श्रीमती धारामा पानी तान्न जाँदा  र फर्केर आउँदा क्यामेराले फलो गर्दै खिचिएको छ। जहाँ घरी टाउको काटिने त  घरी हल्लिएको छ। पानी थाप्दाको सिनमा पनि धारोबाट अगाडिको सिन निकै खाली राखिएको छ। कमजोरी या नयाँ प्रयोग दर्शकले छुट्टाउन सक्दैनन्।

फिल्मको कलरिङमा अलिक मेहनत पुगेको देखिँदैन। फिल्मका केही दृश्य अलि लम्ब्याइएको अनुभव हुन्छ। जेठी छोरी सुजताको विवाहको दृश्य अलि लामो लाग्नसक्छ।

अमेरिकामा रहेको छोरोलाई फोन गर्न साइबर पुगेकी सानुमायाले मिस्कलको पैसा तिर्छिन्। तर फोनमा बोलेको पैसा नतिरी हिँडेकी छन्। साइबरवालाले मिस्कलको पैसा लिन्छ तर फोनमा बोलेको पैसा मागेको देखिँदैन। उनी छोरोको फोन नउठेपछि रुँदै हिँड्दा फोनवाला आफ्नै धुनमा हुन्छ। यो अलिक पत्याउने खाल्को लाग्दैन।

फिल्मको अन्तिममा ‘मगमग’बोलको गीतमा परिवार नै नाचेका छन्। यो फिल्ममा यो गीतको खासै अर्थ लाग्दैन। निर्देशकले जबरजस्ती घुसाउने कोसिस गरेका छन्। 

निर्माण टिमले फिल्मलाई फिल्मका रूपमा भन्दा पनि सिरिज हिसाबले खिचेको देखिन्छ। यति कमजोरी हुँदाहुँदै पनि पटकथा तथा संवाद र अभिनयले फिल्मलाई निकै बलियो बनाएको छ। पारिवारिक कथामा बनेका नेपाली फिल्महरूमा यो निकै बलियो फिल्म हो।

असोज १४, २०८१ मंगलबार १५:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।