एभरेष्ट होटलले म्याद गुज्रेका सामान बेचेको भेटियो, बसेराले एमआरपी भन्दा बढीमा पानी बेच्यो, दुवैलाई ३/३ लाख जरिवाना

एभरेष्ट होटलले म्याद गुज्रेका सामान बेचेको भेटियो, बसेराले एमआरपी भन्दा बढीमा पानी बेच्यो, दुवैलाई ३/३ लाख जरिवाना

काठमाडौं : चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ।

चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको संख्या बढाएको हो। सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ।

सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ। काठमाडौंको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजा अर्थात् ‘बसेरा बुटिक होटल’लाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ।

नयाँ बानेश्वरमा रहेको एभरेस्ट होटलको अनुगमनका गर्दा किचनमा म्याद गुज्रेका सामान फेला परेको विभागका महानिर्देशक पौडेलले बताए। 

उनका अनुसार अनुगमनका क्रममा रिलेवलिङ गरेको गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेकाले कारबाही गरिएको हो ।

बबरमहलमा रहेको बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको थियो।

विभागले ‘स्ट्रिङ अपरेसन’ सरह ११ वटा टोली काठमाडौं उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ। 

विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै बिपत्तिसमेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरू आएपछि टोली परिचालन गरिएको हो। 

कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ वटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए। टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेका छन्। 

यस्तै, कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरूकोसमेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडिओको नेतृत्वमा बजार अनुगमन सुरू गरेको महानिर्देशक पौडेलको भनाइ छ।  

असोज १४, २०८१ मंगलबार १४:५९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।