छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु, तीन जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं : काठमाडौं, महोत्तरी, कैलाली, झापा र धनुषामा भएको छुट्टाछुट्टै दुर्घटनामा छ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र ०२-०४९ प २६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काठमाडौं जडिबुटी बस्ने काभ्रे खानीखोला गाउँपालिका-१ घर भएका ५० वर्षीय शार्कीमान लोप्चनको सोमबार बेलुकी मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-५ स्थित सडकमा औरहीबाट रामगोपालपुरतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ८२४६ नम्बरको मोटरसाइकलले लु.प्र ०१००१ प २७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सोमबार साँझ दुर्घटना हुँदा प्र.२-०२-००४ प ८२४६ नम्बरको मोटरसाइकल चालक बलवा नगरपालिका-७ बनौटा बस्ने ३५ वर्षीय राजिव झाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जनाको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको छ। हाल फरार लु.प्र ०१-००१ प २७३१ मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्कास्थित सडकमा से.६ प ६२७९ नम्बरको मोटरसाइकल र बा.९५ प ९२५२ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका से.६ प ६२७९ नम्बरको मोटरसाइकल चालक जानकी गाउँपालिका-८ पालबजार बस्ने २० वर्षीय निर्मल चौधरी र बा.९५ प ९२५२ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-७ बस्ने २६ वर्षीय चिरन्जिबी मल्लको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

झापाको कमल गाउँपालिका-५ मंगलबारेस्थित सडकमा गौरादहबाट दमकतर्फ जाँदै गरेको मे.८ प ७१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार दमक नगरपालिका-७ बस्ने ३१ वर्षीय राजन लिम्बुको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको दमक लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। 

धनुषा, मिथिला नगरपालिका-२ नक्टाझिजस्थित सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्र.२-०२-००३ प ८३११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गणेशमान चारनाथ नगरपालिका-१ छगडिया बस्ने २७ वर्षीय सत्य नारायण यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
 

असोज १४, २०८१ मंगलबार १३:१८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।