लेबनानमा घुसेर सैन्य कारबाही गर्न लागेको इजरायलको घोषणा

लेबनानमा घुसेर सैन्य कारबाही गर्न लागेको इजरायलको घोषणा

एजेन्सी : इजरायल रक्षा बल (आईडीएफ)ले लेबनानको जमिनमा घुसेर सैन्य कारबाही शुरु गर्न लागेको घोषणा गरेको छ।

आईडीएफले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको छ।

‘हामी दक्षिणी लेबनानको जमिनबाट सैन्य कारबाही गर्न जाँदैछौँ,’ आईडीएफले एक्समा लेखेको छ, ‘हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको स्थानलाई लक्षित गर्नेछौँ। यो सैन्य कारबाही सीमित दायरामा हुनेछ। हिजबुल्लाहले उत्तरी इजरायलको सीमामा बस्ने मानिसहरूलाई आक्रमण गर्ने सीमावर्ती गाउँहरू यसको निशानामा रहनेछन्।’

सैन्य कारबाही योजना अन्तर्गत नै भइरहेको भन्दै आईडीएफले यसको तयारी पछिल्ला महिनाहरू गरिएको जनाएकाे छ। इजरायली वायुसेना र आईडीएफले संयुक्त रूपमा यो सैन्य कारबाही गरिरहेको उसको भनाइ छ।

इजरायली रक्षामन्त्री याभ गालान्टले सेप्टेम्बर ३० मा लेबनानी सीमा नजिक इजरायली सैनिकहरूलाई भेटेका थिए। यस क्रममा उनले आफूहरू सबै क्षमता प्रयोग गरेर लड्ने भन्दै सेनाले लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेका थिए।

उनले भनेका थिए, ‘जे गर्न आवश्यक छ त्यो गरिनेछ। हावा, जल र जमिनको माध्यमबाट हामीले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नेछौँ।’

बीबीसीका कूटनीतिक संवाददाता पाउल एडम्सका अनुसार हिजबुल्लाह इजरायलले जमिनमा घुसेर आक्रमण गर्न सक्छ भन्नेमा तयार अवस्थामा छ। यसको संकेत धेरै हिजबुल्लाह नेताहरूले दिइरहेका छन्।

हिजबुल्लाहका उपनेता शेख नइम कासिमले भने, ‘हिजबुल्लाह इजरायलको जमिनमा घुसेर गर्ने आक्रमणको सामना गर्न तयार छ। हामी इजरायलविरुद्धको लडाइँ जारी राख्नेछौँ।’

असोज १४, २०८१ मंगलबार ०८:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।