राहत तथा पुनर्स्थापना प्याकेज थाती राख्दै सरकारले घोषणा गर्‍यो तीन दिन राष्ट्रिय शोक, मृतक र बेपत्ताका परिवारलाई दुई लाख

राहत तथा पुनर्स्थापना प्याकेज थाती राख्दै सरकारले घोषणा गर्‍यो तीन दिन राष्ट्रिय शोक, मृतक र बेपत्ताका परिवारलाई दुई लाख

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घको महासभाबाट स्वदेश फर्किए लगत्तै आफ्नै सरकारी निवासमा मन्त्रिपरिषद्को बैठक राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवारबाट तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरे।

निरन्तर वर्षाका कारण आएको बाढी-पहिरो प्रभावितहरूको विषयमा निर्णय गर्न बसेको बैठकले मृतकका परिवारलाई २ लाख र १० दिनदेखि हराइरहेकाहरूको हकमा पनि मृतक नै मानेर समान दुई लाख राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिएका थिए। राष्ट्रिय शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भए पनि सार्वजनिक बिदा भने नहुने गुरुङले जानकारी दिए। 

बैठकले केन्द्रीय दैवी प्रकोप राहत कोषमा १ अर्ब रुपैयाँ दिने र कोषमा सबै मन्त्रीहरूले एक महिनाको तलब दिने निर्णय समेत गरेको छ। घरबारहीन भएका नागरिकका हकमा के हुने लगायतका राहत प्याकेज भने सोमबार सार्वजनिक भएन। यीबारे मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गुरुङले जानकारी दिए।

असोज १३, २०८१ सोमबार २२:१७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।