‘प्रधानन्यायाधीशले घुस खाएर न्यायाधीश नियुक्ति सिफारिस गरेको’ भनेपछि बारका अध्यक्ष घिमिरेविरूद्ध मुद्दा लगाउने तयारी

‘प्रधानन्यायाधीशले घुस खाएर न्यायाधीश नियुक्ति सिफारिस गरेको’ भनेपछि बारका अध्यक्ष घिमिरेविरूद्ध मुद्दा लगाउने तयारी

काठमाडौं : अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ।

घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए।

अध्यक्ष घिमिरेले गैरसंवैधानिक न्याय परिषद नियमावली खारेज हुनुपर्ने र न्यायाधीश नियुक्तिमा अनियमितता तथा लेनदेन भएको आरोप लगाउँदै न्यायपालिका भित्रको बिकृति र विसङ्गति अन्त्यको माग गर्दै आएका छन्।

त्यसैलाई इस्यू बनाउँदै सर्वोच्च अदालतले घिमिरेलाई अदालतको अवहेलनाको रुपमा ब्याख्या गर्दै प्रतिवेदन तयारी गरिरहेको अदालत स्रोतले जनाएको छ।

अदालतमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न बारले आजै अपरान्ह ५ बजे विशेष बैठक बोलाएको छ। बैठक बारको सभा हलमा बस्नेछ।

घिमिरेका अभिव्यक्तिलाई लिएर न्याय परिषदको सचिवालयले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ। 

सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सिफारिसका विषयलाई लिएर घिमिरेले सार्वजनिक अभिव्यक्ति दिएका थिए। 

असोज १३, २०८१ सोमबार २१:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।