हेलिकप्टरमार्फत पाँचथरका दुई गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत पाँचथरका दुई गर्भवतीको उद्धार
फाइल

काठमाडौं : बाढीका कारण सडक अवरूद्ध भएपछि अस्पताल जान नसकेका पाँचथरका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
    
फालेलुङ गाउँपालिका-३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो। 

३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई आज एक/एक जना सहयोगीसहित काठमाडौं पठाइएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानले जानकारी दिए। 

पासवानका अनुसार गर्भवती सुजालाई सुत्केरीका लागि चिकित्सकले दिएको समय पुगेपनि सडक नहुँदा स्वास्थ्य संस्था जान नसकी घरमै बसेकी थिइन्। भूमिकाको पेटमा रहेको बच्चाको तौल पर्याप्त नभएकाले सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए। 

अविरल वर्षापछि असार १२ मा आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सदरमुकाम फिदिम तथा मेची राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ। 

मेची राजमार्गको फिदिम नगरपालिका-२ रमितेस्थित सडक भत्किएर सञ्चालन हुन सकेको छैन।   

असोज १३, २०८१ सोमबार २१:४४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।